विराटनगर, असार १ — भारतको बिहारमा चर्चामा रहेको ‘खान ग्लोबल स्टडीज’ कोचिङ सेन्टर गोलीकाण्डका मुख्य आरोपितमध्ये एक प्रिन्स यादव (प्रिन्स आनन्द) विराटनगरमा मृत अवस्थामा फेला परेका छन्। २४ वर्षीय भारतीय नागरिक यादव शनिबार राति विराटनगर–१० स्थित शुभ होटलमा अचेत अवस्थामा भेटिएपछि उनका साथीहरूले उपचारका लागि न्युरो अस्पताल पुर्याएका थिए। अस्पताल प्रशासनका अनुसार अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो।
मोरङ प्रहरीका अनुसार मृतक प्रिन्स यादव पटनास्थित ज्ञानबिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका कान्छा भाइ हुन्। खान सरका नामले परिचित फैजल खानले रोशन आनन्द र उनका समूहविरुद्ध जाहेरी दिएपछि प्रहरीको खोजीमा रहेका प्रिन्स केही दिनअघि साथीहरूसँग नेपाल आएका थिए।
प्रहरीले मृतकको एउटा आँखाको डिलमा सामान्य चोट देखिएको जनाएको छ। घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रिन्ससँगै रहेका बिहारका चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
मोरङ प्रहरी प्रमुख एसपी कबित कटवालका अनुसार प्रिन्स जेठ २० गते साथीहरूसँग विराटनगर आएका थिए। सुरुमा उनीहरू मेट्रो होटलमा दुई दिन बसेपछि शुभ होटलमा सरेका थिए। शवको पोस्टमार्टम सम्पन्न गरी परिवारलाई बुझाइसकिएको र मृत्युको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार खान सर र रोशन आनन्द एक समय सँगै अध्यापन गर्थे। कोरोना महामारीपछि दुवैले आ–आफ्नो कोचिङ संस्था सञ्चालन गर्न थालेपछि उनीहरूबीच विवाद बढ्दै गएको थियो। गत जुन २ मा पटनास्थित खान ग्लोबल स्टडीजमा भएको आक्रमणमा रोशन आनन्दको समूह संलग्न रहेको आरोप छ। उक्त घटनापछि रोशन आनन्द पक्राउ परिसकेका छन् भने फैजल खानको गिरफ्तारीमा अदालतले अस्थायी रोक लगाएको छ।