राजविराज । सप्तरीको राजविराज नगरपालिका क्षेत्रमा देखिएको जग्गा दर्तासम्बन्धी समस्या समाधानका लागि सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मन्त्रालयका उपसचिव नरेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक खिमानन्द आचार्य, नापी विभागका प्रमुख नापी अधिकृत दिनेश काफ्ले लगायत सदस्य रहेका छन्।
समितिलाई सम्बन्धित क्षेत्रमा स्थलगत अध्ययन गरी समस्याबारे रायसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। साथै, जग्गा दर्तासम्बन्धी समस्याको पहिचान, त्यसको दीर्घकालीन समाधान तथा आवश्यक कार्ययोजनासहितको प्रतिवेदन १५ दिनभित्र मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टद्वारा जारी विज्ञप्तिमा स्थानीयस्तरमा देखिएको समस्या समाधानका लागि आवश्यक अध्ययन र सुझाव संकलन गर्न समिति गठन गरिएको उल्लेख गरिएको छ।
राजविराजको स्थापनासँगै बसोबास गर्दै आएका परिवारले विगत केही समयदेखि लालपूर्जाको माग गर्दै सङ्घर्ष गर्दैआएका छन् । बिटौरी कर तिरेर स्थायी रुपमा बसोबास गर्दैआएका परिवारले आफूहरुको मागको ठोस सम्बोधन गर्न माग गर्दैआएका छन् ।
