घुससहित सिँचाइ डिभिजनका प्रमुख र अधिकृत पक्राउ

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैया (सर्लाही) का प्रमुख अनुपम ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई पक्राउ गरेको छ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा सर्लाहीको बागमती नगरपालिका–१२ स्थित रामकाजी थापाको घरमा रहेको डिभिजन प्रमुख ढकालको निवासमा छापा मारेको थियो। छापाका क्रममा ढकाल बसेको सोफाबाट सेवाग्राहीसँग लिएको रु. ७ लाख ५० हजार नगद बरामद गरिएको आयोगले जनाएको छ।

आयोगका सूचना अधिकारी प्रकाश पोखरेलका अनुसार खानतलासीका क्रममा स्रोत नखुलेको थप रु. ७१ हजार ११५ पनि फेला परेको छ।

विभिन्न जल उपभोक्ता समितिले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानीका लागि कार्यालय प्रमुख ढकालले मेकानिकल अधिकृत चौधरीमार्फत घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस