राजविराज । सुनसरीमा पछिल्ला केही दिनदेखि जारी तनावका बीच जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको दायरा थप विस्तार गरेको छ। यसअघि दक्षिणी क्षेत्रका केही स्थानमा मात्र सीमित रहेको कर्फ्यू अब महेन्द्र राजमार्गको सुनसरी खण्ड र जिल्ला सदरमुकाम इनरुवा बजार क्षेत्रमा पनि लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरप्रसाद अर्यालले मंगलबार जारी गरेको आदेशअनुसार आज दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू हुनेछ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशअनुसार तोकिएको क्षेत्रभित्र कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न निषेध गरिएको छ।
प्रशासनले कर्फ्यूको सीमा पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ महेन्द्र राजमार्गबाट २०० मिटर क्षेत्रसम्म निर्धारण गरेको छ। इनरुवा बजार क्षेत्र पनि यसै आदेशअन्तर्गत कर्फ्यूको दायरामा परेको छ।
देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार दुई समूहबीच भएको झडपपछि सुनसरीको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ। झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।
घटनापछि प्रशासनले दक्षिणी क्षेत्रका पाँच स्थानमा कर्फ्यू जारी गरेको थियो। सोमबार कर्फ्यू उल्लङ्घन गर्दै विभिन्न स्थानमा प्रदर्शन भएपछि प्रशासनले सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै कर्फ्यूको दायरा विस्तार गरेको हो।
यसअघि जारी आदेशअनुसार देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा कायम छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यू आदेश यथावत् राखिएको छ।
हरिनगरा बजारमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यू लागू गरिएको छ।
भुटाहा बजारमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यू कायम गरिएको छ।
कप्तानगञ्ज बजारमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यू लागू छ।
घुस्की बजारमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यू जारी रहेको प्रशासनले जनाएको छ।
त्यसैगरी, देवानगञ्ज बजारमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला र उत्तरमा चिउरा मिलसम्मको क्षेत्रमा पनि कर्फ्यू आदेश यथावत् राखिएको छ।