सुनसरी घटनाबारे प्रधानमन्त्री : दोषी उम्किन पाउँदैनन्

काठमाडौं, १३ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने तथा पीडितलाई न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। प्रभावित परिवारको पीडामा सरकार साथमा रहेको उल्लेख गर्दै उनले न्याय दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

सुरक्षाकर्मीको गोली लागेर नागरिकको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको प्रधानमन्त्रीको भनाइ छ। उनले घटनाको अनुसन्धान सुरु भइसकेको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने स्पष्ट पारेका छन्। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधार र नीतिगत निर्णय अघि बढाइने पनि उनले बताएका छन्।

प्रधानमन्त्री शाहले नागरिकलाई संयम अपनाउन र उत्तेजनामा नआउन आग्रह गरेका छन्। उनले आक्रोश वा प्रतिशोधको भावनामा बहकिने कुनै पनि गतिविधिमा संलग्न नहुन अनुरोध गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई आह्वान गरेका छन्।

‘सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु हो,’ प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। सरकारले यी दायित्व पूरा गर्न कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता छ।

Author:



क्याटोगरी छान्‍नुहोस