काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेको र उनको निजी निवास तथा सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गरी सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले बिहीबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको र त्यसको भोलिपल्ट बिहानै हातहतियारसहित सञ्चारमाध्यमको कार्यालयमा प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको उल्लेख छ।
काउन्सिलले कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेको अवस्थामा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ। प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिताअनुसार काउन्सिलले पत्रकार र सञ्चारमाध्यमविरुद्ध परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्दै आएको जनाएको छ।
काउन्सिलका अनुसार उजुरी परेपछि सम्बन्धित पत्रकार वा सञ्चारमाध्यमलाई बोलाएर संवाद तथा मेलमिलाप गराउने, खण्डन वा भुलसुधार प्रकाशन गर्न निर्देशन दिने, सचेत गराउनेदेखि आचारसंहिता उल्लङ्घनको गम्भीरताअनुसार विभिन्न कारबाही तथा सिफारिस गर्नेसम्मका अधिकार काउन्सिलसँग छन्।
विज्ञप्तिमा नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको जिम्मेवारी भएको उल्लेख गरिएको छ। काउन्सिलले प्रेस स्वतन्त्रताको सम्मानसँगै यसको दुरुपयोग हुन नदिन पत्रकार तथा सञ्चारमाध्यम पनि जिम्मेवार र जवाफदेही हुनुपर्नेमा जोड दिएको छ।
काउन्सिलले पत्रकारिता क्षेत्रमा सत्य, तथ्य, सन्तुलित र विश्वसनीय सामग्री सम्प्रेषण गर्दै उच्च पेसागत मर्यादा कायम गर्न पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गरेको छ। प्रेस स्वतन्त्रताको नाममा स्वच्छन्दता बढ्न नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने उसको भनाइ छ।
कुनै समाचार वा सामग्रीप्रति चित्त नबुझे त्यस विषयमा कानुनअनुसार प्रेस काउन्सिल नेपालमा उजुरी दिन काउन्सिलले सरोकारवाला सबै पक्षलाई आग्रह गरेको छ। साथै, आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार र सञ्चारमाध्यमको अनुगमन तथा आचारसंहिता पालना गराउने कार्य निरन्तर गर्दै आएको काउन्सिलले जनाएको छ।
