ललितपुर । नेपालमा पहिलोपटक मैथिली भाषाको गद्य शैलीमा रचना गरिएको ‘मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत’ ग्रन्थ शुक्रबार ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजको लाइब्रेरी हलमा भव्य समारोहबीच विमोचन गरिएको छ।
पूर्वउपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्य तथा लेखिका अर्चना झाको अध्यक्षतामा आयोजित कार्यक्रममा ग्रन्थ विमोचन गरिएको हो। श्री मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमूर्ति महाराजको आयोजनामा तथा मधेसी प्राध्यापक संघ र हिन्दू सम्राट नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
करिब १ लाख २१ हजारभन्दा बढी शब्द तथा ६१३ पृष्ठमा तयार गरिएको ग्रन्थमा महाभारतका १८ वटै पर्व समेटिएका छन्। मैथिली लोकभाका तथा मिथिला चित्रकलाले समेत सजाइएको कृतिका प्रकाशक विनयकुमार झा र सम्पादक प्रेमनारायण झा हुन्।
विमोचन समारोहमा पूर्वउपराष्ट्रपति परमानन्द झाले मैथिली भाषाभाषी समुदायका लागि यो ऐतिहासिक तथा उपयोगी ग्रन्थ भएको बताए। महाभारतजस्तो गहन ग्रन्थलाई सरल र सहज मैथिली गद्यमा प्रस्तुत गरेकामा उनले लेखिका अर्चना झालाई धन्यवाद दिए।
आफूले पुस्तकका ६१३ पृष्ठमध्ये करिब चार सयदेखि साढे चार सय पृष्ठ अध्ययन गरेको उल्लेख गर्दै झाले कठिन विषयवस्तुलाई समेत सहज रूपमा बुझ्न सकिने गरी प्रस्तुत गरिएको बताए। महाभारतलाई ‘पाँचौँ वेद’का रूपमा समेत मानिने उल्लेख गर्दै उनले यो ग्रन्थ मैथिली भाषाभाषीको घर–घरमा पुग्नुपर्ने बताए।
श्री पशुपतिनाथ मन्दिरका मूलभट्ट (अर्चक) रावल गणेश भट्टले मैथिली भाषा, संस्कृति र धर्मको संरक्षण तथा प्रवद्र्धनमा ग्रन्थले महत्वपूर्ण योगदान पुर्याउने बताए। महाभारत विश्वका महत्वपूर्ण तथा व्यापक रूपमा पढिने ग्रन्थमध्ये एक रहेको उल्लेख गर्दै उनले मैथिलीमा प्रस्तुत गरिएको यस कृतिको अध्ययन गर्न सबैलाई आग्रह गरे।
लेखिका अर्चना झाले गहन अध्ययन, अनुसन्धान, मनन र साधनापछि महाभारतलाई आफ्नै शैलीमा सरल, सहज र पठनीय मैथिली गद्यमा प्रस्तुत गरिएको बताइन्। उनले यो कृति कुनै पुस्तकको हुबहु अनुवाद नभएको स्पष्ट पारिन्।
ग्रन्थमा धर्म, कर्म, संस्कार, संस्कृति, सभ्यता, राजनीति, राज्यनीति, न्याय, कूटनीति तथा मानवीय जीवनमूल्यका विविध पक्षलाई समेटिएको उनले बताइन्। साथै श्रीमद्भगवद्गीताका आध्यात्मिक तथा दार्शनिक सन्देश र महाभारतका महिला पात्रहरूको संघर्ष, त्याग, शक्ति तथा योगदानलाई समेत विशेष स्थान दिइएको उनको भनाइ छ।
प्रतिनिधिसभा सदस्य नितिमा कार्कीले कृति मिथिलाञ्चलका लागि मात्र नभई नेपाली साहित्यका लागि समेत महत्वपूर्ण ऐतिहासिक दस्तावेज बन्ने बताइन्। नेपाल प्रज्ञा–प्रतिष्ठानकी सदस्य रूपा झाले पारिवारिक तथा घर–गृहस्थीको जिम्मेवारीसँगै यति विशाल ग्रन्थको सिर्जना गर्नु उल्लेखनीय उपलब्धि भएको बताइन्।
विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष अरुणकुमार पाण्डेले ग्रन्थमार्फत नेपालको सनातन संस्कृति, ज्ञान, भक्ति र कर्मको परम्परालाई मातृभाषामार्फत नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
पत्रकार तथा विश्लेषक सीके लालले कृतिमार्फत मैथिलीभाषी समुदायमा महाभारतको ज्ञान, विश्वास र भावलाई मातृभाषामार्फत हस्तान्तरण गर्ने महत्वपूर्ण कार्य भएको बताए।
सम्पादक प्रेमनारायण झाले ज्ञान, कर्म र भक्तिको समन्वय रहेको महाभारतलाई आफ्नै मातृभाषामा बुझ्ने अवसर यस ग्रन्थले प्रदान गर्ने विश्वास व्यक्त गरे। प्रकाशक विनयकुमार झाले मैथिली भाषा, संस्कृति, परम्परा तथा सभ्यताको संरक्षण र पुस्तान्तरणमा पुस्तक महत्वपूर्ण माध्यम बन्ने बताए।
लेखिका झाले यसअघि ‘अर्चनाकृत रामायण’ रचना गरेपछि पाठकबाट प्राप्त माया, हौसला र प्रेरणाबाट महाभारत लेखनतर्फ अग्रसर भएको बताइन्। उनले यो कृति आफ्नो व्यक्तिगत सिर्जनामा मात्र सीमित नभई मैथिली भाषा, साहित्य, मिथिला संस्कृति तथा सनातन परम्पराप्रतिको साझा सम्पदा भएको धारणा व्यक्त गरिन्।