सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्तिबारे विवरण माग

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा विभागले स्थानीय तहअन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको छ।

विभागले राष्ट्रिय सतर्कता केन्द्र, सूचना संकलन तथा अनुगमन शाखा, सिंहदरबार, काठमाडौंको पत्रअनुसार सामुदायिक विद्यालयमा प्रचलित कानुनबमोजिम प्रधानाध्यापक नियुक्तिको व्यवस्था कार्यान्वयन भए–नभएको विवरण माग गरेको हो।

विभागले स्थानीय तहअन्तर्गतका सामुदायिक विद्यालयमा प्रचलित कानुनबमोजिम प्रधानाध्यापक नियुक्तिको व्यवस्था कार्यान्वयन नगरेको/परिपालना नगरेको सम्बन्धमा विवरण आवश्यक परेको जनाएको छ।

यसका लागि स्थानीय तहअन्तर्गतका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति भए–नभएको स्पष्ट खुल्ने गरी तोकिएको ढाँचामा विवरण तयार गरी पठाउन भनिएको छ। साथै, सम्बन्धित विद्यालयमा कार्यरत शिक्षकहरूको विवरणसमेत अनलाइन फाराममार्फत उपलब्ध गराउन विभागले आग्रह गरेको छ।

विभागले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ तथा स्थानीय तहलाई आवश्यक समन्वय गरी माग गरिएको विवरण उपलब्ध गराउन अनुरोध गरेको पत्रमा उल्लेख छ।

Author:



क्याटोगरी छान्‍नुहोस