राजविराज । हुंकार मधेशले संगठन विस्तारलाई तीव्रता दिँदै २१ वटा विभागका प्रमुख तोकेको छ।
हुंकार मधेशको असोज ९ गते बसेको केन्द्रीय अभियानतर्फको बैठकबाट प्राप्त निर्णय तथा केन्द्रीय अभियानकर्ताहरूसँगको संवादका आधारमा विभिन्न विभागको जिम्मेवारी तोकिएको जनाइएको छ। जारी प्रेस विज्ञप्तिअनुसार सम्वाद तथा समन्वय विभागको प्रमुखमा रामकुमार कश्यप, प्रचारप्रसार तथा प्रकाशनमा केशव कुमार, संगठनमा कौशलेन्द्र कौशल, कानुन तथा न्यायमा रत्नेश्वर सनातनी, आईटी तथा कार्य मूल्यांकनमा रोशन कुमार, वैदिक तथा पेशाकर्मीमा डा. एस.एन. भारद्वाज र आर्थिक विभागमा सचिवानन्द यादवलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै अनुशासन विभागमा राजाराम मधेशी, प्रशिक्षण तथा नीति अनुसन्धानमा मनोहर मानव, सहकारी, कर्पोरेट तथा उद्यमशीलतामा कृष्ण कुमार, स्वयंसेवी सुरक्षा दस्तामा उमेश सिंह, युवा तथा विद्यार्थीमा पंकज आनन्द, वैदेशिक रोजगारमा मनिष कुमार, सूचना तथा सञ्चारमा पुष्पा प्रिया र संघीय मामिलामा मधुमाया यादवलाई प्रमुख तोकिएको छ। यसैगरी शिक्षा तथा संस्कृतिमा इन्द्रजीत साफी, उद्योग, व्यापार, वाणिज्य तथा व्यवसायमा सन्दीप त्रिपाठी, नागरिकता तथा भूमिहीन समस्या समाधानमा आनन्द यादव, कृषि विकास तथा अनुसन्धानमा रामकिशुन नायक, विज्ञान तथा प्रविधिमा विजय महतो र सहित तथा यातायात व्यवस्थापन विभागमा मो. युसुफ साफीलाई जिम्मेवारी दिइएको छ।
हुंकार मधेशले सबै विभागीय प्रमुखलाई सात दिनभित्र आफ्नो विभागको कार्ययोजना, कार्यविधि र १०० दिने कार्यसूची प्रस्तुत गर्न निर्देशन दिएको छ। संगठनलाई थप व्यवस्थित गर्दै अभियानलाई प्रदेशका विभिन्न क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यले विभागीय जिम्मेवारी बाँडफाँट गरिएको जनाइएको छ।