युवा पुस्ताका लोकप्रिय लेखक सुबिन भट्टराई राजविराज आउने

राजविराज । नेपालका चर्चित लेखक एवम् उपन्यासकार सुबिन भट्टराई लेखन कार्यशालामा प्रशिक्षण दिनका लागि सप्तरीको राजविराज आउने भएका छन् ।

साहित्य लेखन तथा प्रवद्र्धनमा सक्रिय काठमाण्डौको स्काइटप एकेडेमी र दलान फाउण्डेशनको सहकार्यमा दशैं तिहारको विदालाई लक्षित गरी दुई दिवसीय लेखन कार्यशाला आयोजना गर्न लागिएको हो । एकेडेमीका प्रमुख समेत रहेका लेखक भीम बहादुर साउदका अनुसार नयाँ लेखक, लेखनमा रहेका तथा साहित्य लेखनमा रुची राख्नेहरुका लागि लेखन कला, सीप विकास एवम् पठनीय साहित्य लेखन सम्बन्धी उपन्यासकार भट्टराईले प्रशिक्षण दिनुहुनेछ ।

कार्यशालाका लागि सिट सङ्ख्या थोरै रहेकोले ईच्छुक लेखक एवम् साहित्यकारहरुले आयोजक संस्थाका आधिकारिक व्यक्तिसँग सम्पर्क गरी नाम दर्ता गराउन सकिने दलान फाउण्डेशनकी अध्यक्ष अन्जु यादवले जानकारी दिएकी छिन् । उनका अनुसार उक्त कार्यशालामा सहभागी हुन चाहने लेखकहरुले आयोजक संस्थाले तोकेको शुल्क तिर्नुपर्ने हुन्छ । कार्यशालाका सहभागीहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइने उनले बताईन् ।

लेखनीको शिल्पकलाका कारण युवाहरु माझ सर्वाधिक लोकप्रिय लेखक राजविराज आएर लेखन कार्यशालामा प्रशिक्षण दिनु सप्तरीवासीका लागि गौरवको विषय भएको फाउण्डेशनका निर्देशक समेत रहेका पत्रकार एवम् साहित्यकार श्यामसुन्दर यादवले बताए । वर्तमान अवस्थामा पठन र लेखन कार्यप्रति रुची घट्दै गइरहेकोले यो कार्यशालाले महत्त्वपूर्ण योगदान मिल्ने उनले विश्वास व्यक्त गरे ।

कार्यशालासँगै भट्टराईका प्रकाशित पुस्तकहरु समेत उपलब्ध हुने जनाइएको छ । लेखक भट्टराईका कथाकी पात्र ( २०११, कथा सङ्ग्रह), समर लभ (२०१२, उपन्यास) साया (२०१४ उपन्यास), मनसुन (२०१६, उपन्यास), प्रिय सुफी (२०१८, उपन्यास), इजोरिया (२०२२, उपन्यास), चमेलीको फूल बैजनी रुमाल (२०२६) जस्ता उत्कृष्ट कृतिहरु प्रकाशित छन् ।

लोकप्रिय लेखक भट्टराईले मधेशको भूगोल, महिला जीवन, मित्रता, प्रेम, परिवार र मुक्तिको विषयमा केन्द्रित रहेर ‘इजोरिया’ उपन्यास लेखेका छन् । मधेशलाई कथाको प्रमुख पृष्ठभूमि बनाएर उनले उक्त कालजयी पुस्तक प्रकाशन गरेका छन् ।

उनका चर्चित उपन्यास ’समर लभ’ माथि आधारित ’समर लभ’ नाटक हाल देशका प्रमुख सहरहरूमा मञ्चन भइरहेको छ । उक्त नाटकलाई खासगरी युवा पुस्ता एवम् सर्वसाधारणले अत्यधिक मन पराएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस