आज आमाको मुख हेर्ने पर्व

जनकपुर । आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा मनाइने आमाको मुख हेर्ने पर्व आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइन्छ ।

आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण छोरा छोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिन्छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवंगत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने शास्त्रिय मान्यता छ ।

Author:



क्याटोगरी छान्‍नुहोस