हत्या,हिंसा, बलात्कार र विभेद विरुद्ध दलित समुदायद्वारा वृहत प्रदर्शनको तयारी

राजविराज, २८ असोज । दलित समुदायलाई लक्षित गरी हत्या, हिंसा, बलात्कार, जातीय विभेद लगायतका श्रृङ्खलावद्ध घटनाहरु भईरहे पनि दोषीले उन्मुक्ति पाईरहेको भन्दै संयुक्त दलित संघर्ष समिति सप्तरीले वृहत प्रदर्शन गर्ने भएको छ ।

संघर्ष समितिको आह्वानमा राजविराज स्थित राज रङ्गशालामा जिल्लाभरिका दलित अगुवा, पीडित, पीडितका परिवारजन समेत भेला भई विहीबार प्रदर्शन गर्ने भएको हो । प्रदर्शनमा आएका सहभागीहरुलाई स्वयम्सेवकहरुले अनिवार्य मास्कको प्रयोग गर्न लगाई, भौतिक दूरी कायम गर्न लगाउने संघर्ष समितिका संयोजक प्रथमलाल रामले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

कोभिड १९ को जोखिमबाट गुज्रिरहेको अवस्थामा पनि दलित समुदाय झन असुरक्षित हुने क्रम बढ्दैगईरहेको बताउँदै उनले भने ‘हामीमाथि अन्य अत्याचारको श्रृङ्खलाले चरम सिमा नाघिसकेको छ, उता दोषीलाई कानूनी कार्वाही हुनुको साटो दोषीलाई नै संरक्षण गर्ने कार्य चौतर्फी रुपमा पाईएकोले बाध्य भएर हामीहरु संघर्षमा उत्रिन बाध्य भएका छौं ।’ दलित लक्षित घटनाहरुमा राजीनितिक फाइदा उठाएर सत्ता र शक्तिको दुरुपयोग गर उल्टो दलितमाथि नै मुद्दा लगाउने, मुद्दालाई कमजोर गरी दोषीलाई उन्मुक्ति दिईरहेको संघर्ष समितिको आरोप छ ।

दलित मुक्ति र न्यायकालागि जनजागरण अभियान अन्तर्गत आयोजना हुन लागेको विरोध कार्यक्रममा सहभागिताकालागि सम्वद्ध पक्षसँग समितिका संयोजक रामले आग्रह गरेका छन् । संघर्ष समितिको आह्वानमा आयोजना हुन लागेको उक्त र्याली राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा पश्चात गजेन्द्र चौकमा सभामा परिणत हुने संयोजक रामले जानकारी दिएका छन् ।

जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ का त्रिभुवन राम, डाक्नेश्वरी नगरपालिका वडा नम्वर ९ को सखुवाका सुखदेव खंगसहित अन्य हत्याका घटना, बलात्कार, कुटपीट, झुठा मुद्दा लगाएर फँसाउने, प्रहरी प्रशासनले मुद्दा दर्ता नगर्न, समाजका जिम्मेवार व्यक्ति तथा जनप्रतिनीधिहरुले पीडकको पक्षमा पैरवी तथा मुद्दा मिलाउने लगायतका कार्य भईरहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । जनजागरण अभियान अन्तर्गत गत भदौ २९ गते संयुक्त दलित संघर्ष समिति गठन गरी दलित समुदायका अगुवाहरुले विभिन्न दवाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दैआएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस