दलितमाथि भइरहेको श्रृंखलावद्ध घटनाविरुद्ध राजविराजमा प्रदर्शन

सप्तरी, २९ असोज । पछिल्लो समय मुलुकमा दलित समुदायमाथि बढ्दो देखिएको हत्या, हिंसा, बलात्कार, जातीय विभेद लगायतका घटनाविरुद्ध संयुक्त दलित संघर्ष समिति सप्तरीले आन्दोलन थालेको छ । दलितमाथि श्रृंखलावद्ध घटनाहरु भइरहदा समेत पैसा र पहुँचको भरमा दोषीले उन्मुक्ति पाइरहेको भन्दै समितिले विहिवार राजविराजमा प्रदर्शन गरेको हो ।

बहुजन समाज परिषद् नेपाल, दलित सरोकार मञ्च, राष्ट्रिय दिनाभद्री मुसहर संघ, विश्वकर्मा समाज, दलित समाज सचेतना केन्द्र लगायतका पदाधिकारीसहित झण्डै तीन हजारको सहभागीतामा प्रदर्शन गरिएको छ । सप्तरीसहित मुलुकको विभिन्न स्थानमा दलितमाथि श्रृंखलावद्ध घटनाहरु भइरहदा समेत सरकारले ध्यान नदिएकाले बाध्य भएर आन्दोलन थालेको उनीहरुले बताएका छन् ।

अझै विगतमा दलित समुदायमाथि घटिएका घटनाहरुमा दोषीलाई पक्राउ गरी कारवाही नगरिए बाध्य भएर थप कडा आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी समेत दिएको छ । राजविराजस्थित राजरंगशालाबाट निकालिएको विरोध प्रर्दशन बजारभरि परिक्रमा गरी पुनः रंगशालामै पुगेर कोणसभामा परिणत भएको छ ।

कोणसभा अझै जारी रहेको छ । संघर्ष समितिका संयोजक प्रथमलाल रामको अध्यक्षतामा आयोजित सभामा पूर्व सांसद असर्फी सदा, दलित अगुवा झवर राम, वहुजन समाज परिषद्क नेपालको अध्यक्ष हरिनन्दन रंजन, वरिष्ठ नेता राजाराम पासवान सहभागी छन् ।

यसैगरी नेता एवम् दलित अगुवा राजेश विद्रोही, दलित सरोकार मञ्चका अध्यक्ष युक्ती मरिक, राष्ट्रिय दिनाभद्री मुसहर संघका अध्यक्ष तुलसी सदा, विश्वकर्मा समाज सप्तरीको अध्यक्ष राजेन्द्र विक, दलित समाज सचेतना केन्द्रका अध्यक्ष विकबहादुर विश्वकर्मा, बाँतर समाज संघका अध्यक्ष पुजन सरदार, गंगा सदा, बद्री सदा सहभागी छन् ।

यसैगरी, राष्ट्रिय मुसहर संघ कञ्चपुर नगरपालिका कोषाध्यक्ष रामनारायण सदा, राष्ट्रिय हरुवा चरुवा मञ्च का केन्द्रीय सचिव लागीन्द्र सदा, सियाराम पासवान, चन्द्रनारायण राम, उपेन्द्र पासवान लगायतको सहभागीता रहेको दलित अगुवा मनोज मेहतरले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस