बाराको सुवर्ण गाउँपालिकामा तस्कर र प्रहरीबीच झडप, छर्रा लागेर एक बालक घाइते

जनकपुरधाम, १३ कार्तिक । बाराको सुवर्ण गाउँपालिका–२ कबहिगोठमा बुधवार राति तस्कर र प्रहरीबीच झडप भएको छ । झडपमा तीन जना प्रहरी र एक बालक घाइते भएका छन् ।

झडपकै क्रममा प्रहरीले गरेको हवाई फायरको छर्रा लागेर कबहीगोठका चन्देश्वर यादवका १४ वर्षीय छोरा रञ्जन यादव घाइते भएका छन् । रञ्जनको टाउकोमा छर्रा लागेको हो ।

घाइते रन्जनको वीरगञ्जस्थित नारायणी बयोधा अस्पतालमा उपचार भइरहेको छ । झडपमा तस्कर जोगाउन स्थानीयले ढुंगामुढा प्रहार गरेको छ । सोही क्रममा प्रहरी नायव निरीक्षक वीरेन्द्र गिरी, एक जना हवल्दार र एक जना जवान घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले बताए । तीनै जनाको उपचारकोलागि कलैयास्थित जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार सोमवार साँझ भारतबाट राजश्व छलेर ल्याइएका ८ बोरा प्याजसहितका ४ वटा मोटरसाइकल ईलाका प्रहरी कार्यालय कबहीगोठले नियन्त्रणमा लिएको थियो । सो सामान बुधबार बेलुकी कलैयास्थित जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा तस्कर र स्थानीयले प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि विवाद भएको हो ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा सडक छेउमा रहेका रन्जनको टाउकोमा छर्रा लागेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस