विस्फोटक पदार्थ र हतियारसहित विप्लव समूहआवद्ध सप्तरी र इलामका दुई जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले विप्लव समूहका दुई जनालाई विस्फोटक पदार्थ र हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पूर्वी कमान्ड अन्तर्गतको कम्पनी कमिसनरसहित दुई जना छन् ।

चन्दा असुली भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले विस्फोटक पदार्थ र हतियारसहित मिक्लाजुङ गाउँपालिकाबाट बुधवार उनीहरुलाई पक्राउ गरेको हो ।

सोही गाउँपालिका–१ घुर्मिसेस्थित बिजुलीप्रसाद तिम्सिनाको खाली घरबाट पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका ६ का १८ वर्षीय कमरेड सनम भन्ने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय छोरा प्रतीक भन्ने काशीनाथ घिमिरे छन् ।

दुवै जना बसेको ठाउँमा खानतलासी गर्दा नालसहितको भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, हाई एक्सप्लोसिभ विस्फोटक पदार्थ (जिलेटिन) २ प्याकेटमा ३ केजी, सुतली बम २ थान बरामद भएको छ ।

यसैगरी सकेट बम १ थान, टुकी बम १ थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, नन इलेक्ट्रिक डेटोनेटर १८ थान, लाइटर ६ थान, १२ भोल्टको ब्याट्री १ थान, ४ बट्टा लो एक्सप्लोसिभ गन पाउडर र बारुद्ध, एक थान पिलास, पार्टीको दस्ताबेज, डायरीलगायत विभिन्न बन्दोबस्तीका सामान बरामद भएको प्रहरीले जनाएको छ ।

काशीनाथ घिमिरे नेकपा विप्लव समूहको पूर्वी कमान्ड मेची–कोसी ब्युरो चौथो कम्पनीका कम्पनी कमिसनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) मानबहादुर राईले बताए । उनीहरुमाथि कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस