तिलाठीको ईएनटी अस्पताललाई रोटरीद्वारा सवा करोडको उपकरण सहयोग

राजविराज, १५ कार्तिक । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तृप्ति मेमोरियल ईएनटी अस्पताललाई रोटरी फाउण्डेशनले एक करोड २५ लाख रुपैयाँ बराबरको उपकरण सहयोग गरेको छ ।

फाउण्डेशनको तर्फबाट रोटरी क्लव अफ राजधानी काठमाण्डौका पूर्व अध्यक्ष प्रताप सिंह तातेडले शनिवार कान सम्वन्धी उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण हस्तान्तरण गरेका छन् । सामुदायिक स्तरमा देशमै पहिलो पटक सञ्चालनमा आउन लागेको उक्त अस्पतालबाट तत्काल कान सम्वन्धी सेवा सञ्चालन गर्ने तयारी भईरहेको अस्पतालका अध्यक्ष डा. अनिल कुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार दुई साताभित्र उपकरण जडान तथा आवश्यक गृहकार्य गरी सेवा सञ्चालनमा आउने छन् । कान नाक तथा घाँटीका विशेषज्ञ वरिष्ठ सर्जन प्राध्यापक डा. झाले आफुले देशका चर्चित अस्पतालहरुमा सेवा प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई अध्यापनममा करिब पच्चीस वर्षभन्दा बढी समय बिताएको बताए । आफु सानो छँदा त्यतिबेला राजविराजमा समेत उपचार गर्ने ठाउँ नरहेको अवस्थामा भारतको दरभंगा पटना जानुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले भने ‘सानैदेखिको मेरो सोच थियो कि ग्रामिण भेगका सर्वसाधारण एवम् विपन्न जनताको सेवा गरुँ, त्यही सोच अब साकार हुँदैछ, अबको सेवा ग्रामिणमुखि हुनेछ ।’

ईएनटी अस्पताललाई सर्वसुलभ एवम् सुविधासम्पन्न बनाउँदै एसिया लेभेलकै नमूना अस्पताल बनाउने आफ्नो सोच रहेको डा. झाले प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार अस्पतालले दैनिक सय जना विरामीको जाँच तथा उपचार गर्ने लक्ष्य राखेको छ । देशको विषम परिस्थिति तथा अन्य प्राविधिक कारणवश अस्पतालको औपचारिक उद्घाटनमा ढिलाई भएको भन्दै अवस्था सहज भएपछि त्यसलाई पूर्णता दिने प्रा.डा. झाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले रिबन काटेर नयाँ भवनको उद्घाटन समेत गरेका छन् । उक्त अवसरमा उनले आफ्नो गाउँपालिकामा ईएनटी अस्पताल स्थापना हुनु गौरवको विषय भएको भन्दै गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रम सञ्चालन मनोज झाद्वारा सञ्चालित उक्त कार्यक्रममा अस्पतालका कार्यकारिणी सदस्य मनोज सापकोटा, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. अरुण कुमार गुप्ता, तृप्ति मेमोरियलका उपाध्यक्ष ई. किशोर कुमार झा, मेमोरियलका सदस्य मनोज कुमार मुन्धडा, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, वडा अध्यक्ष दिनेश्वर मिश्र, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
अस्पतालकालागि स्व. कृतिनारायण झाले जग्गा उपलब्ध गराएका थिए । उक्त अस्पतालको शिलान्यास १७ वर्ष अघि डा. सशांक कोइरालाले गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस