उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोरको उम्मेदवारी घोषणा

राजविराज, १७ कार्तिक । सप्तरी जन्मथलो भएका उद्योगी किशोर प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाण्डौमा सोमवार एक कार्यक्रम आयोजना गरी उनले उम्मेदवारी घोषणा गरेका हुन् । प्रधान नेतृत्वको समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिर ११, १२ र १३ गते काठमाण्डौमा आयोजना हुन लागेको महासंघको साधारणसभामा प्रधान नेतृत्वको प्यानलले उम्मेदवारी दिने जनाईएको छ ।

करिब तीन दशकदेखि उद्योग वाणिज्यको क्षेत्रमा काम गर्दैआएका प्रधानले समग्र कृषिलाई आधुनिकीकण गरी व्यवसायिकतार्फ उन्मुख गराउने, व्यवसायिक खेतीलाई प्रोत्साहन गर्नुका साथै वन जङ्गलको जडीबुटीको संरक्षण गर्दै व्यवसायीकरण गर्ने र उत्पादनमूलक उद्योगलाई प्राथमिकताकासाथ अगाडि बढाउने सोचका साथ चुनावी मैदानमा होमिएको बताए । आयातमुखि अवस्थामा निर्भर रहनुपरेको अवस्थालाई सदाकालागि अन्त्य गर्न आवश्यक गृहकार्य गरी ठोस कदम चाल्न आफुले कुनै कसर बाँकी नराख्ने उनले ‘मधेश लाइभ’ अनलाइनसँगको कुराकानीका क्रममा प्रतिवद्धता व्यक्त गरे ।

प्रदेश १ र २ मा झन सम्भावना रहेकोले आफुले उक्त विषयमा अवधारणा सहित मुख्यमन्त्रीहरुलाई समेत जानकारी गराईसकेको बताउँदै उद्योगी प्रधानले भने ‘कोशी पश्चिमतर्फका करिब पच्चीस तीस हजार बिघा जग्गामा सम्भाव्यता अध्ययन गरी कृषि उत्पादन मात्रै गर्न सक्यो भने खाद्यान्न र तरकारीमा आत्मनिर्भर मात्र नभई निर्यात समेत गर्नसक्ने अवस्था छ ।’ यसअतिरिक्त कोशी क्षेत्रमा पर्यटनको समेत सम्भावना रहेकोले आफु नेतृत्वमा आए लगत्तै देशलाई आर्थिक समुद्धिको बाटोमा डोर्याउन अगाडि बढ्ने उद्योगी प्रधानले बताए ।

महासंघमा वरिष्ठ उपाध्यक्ष अर्थात प्रथम उपाध्यक्ष हुनेले अर्को पटकको साधारण सभामा स्वतः अध्यक्ष हुने प्रावधान छ । उनी उद्योग व्यवसायका क्रममा बिराटनगर बस्दैआएका छन् । उद्योग संगठन बिराटनगरको पूर्व अध्यक्ष रहिसकेका उनी महासंघको केन्द्रिय कार्यसमितिमा हाल उपाध्यक्षको जिम्मेवारीमा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस