अड्किएको ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण प्रक्रिया अघि बढ्यो : नेता प्याकुरेल

राजविराज, २० कार्तिक । राष्ट्रियसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले सप्तरीस्थित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने पक्षमा सरकार प्रतिवद्ध दावी गरेका छन् ।

एक वर्षबढी समयदेखि सरकारले नै प्रतिष्ठान निर्माण प्रक्रिया अड्काएर राखेको भन्दै चौतर्फी आलोचना हुन थालेपछि नेता प्याकुरेलले आज (विहिवार) राजविराजमा पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेका हुन् । ‘पछिल्लो समयमा केही आन्तरिक कुराहरुलाई लिएर प्रतिष्ठान निर्माण प्रक्रियामा अवरोध भएकै हो, तर नेकपा नेतृत्वको सरकार भने प्रतिष्ठान बन्नुपर्छ र सप्तरीमै बन्नुपर्छ भन्ने पक्षमै छ’ उनले भने–‘सोहीअनुसार अहिले निर्माण प्रक्रिया अघि बढाइसकेको छ ।’

उनले प्याकुरेलले अबको ३–४ महिनाभित्रै बाँकी प्रक्रिया पनि पूरा भइसक्ने बताए । ‘प्रतिष्ठान निर्माण हुने कुरामा दुविधा मान्नुपर्दैन, प्रधानमन्त्री स्वयमले नै इच्छा जनाएर यहाँ प्रतिष्ठान निर्माण प्रक्रिया अघि बढेको हो’ उनले भने–‘र, पछिल्लो समय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा अड्किएको प्रतिष्ठानको फायल प्रधानमन्त्री कार्यालयमा पुगिसकेकाले अबको ३–४ महिनामा टेण्डर र सम्झौता गर्ने कार्य अघि बढाउने तयारी छ ।’

सो अवधिमै टेण्डर र सम्झौता प्रक्रिया सम्पन्न गर्न प्रधानमन्त्रीले पनि भनिसकेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । प्रतिष्ठान निर्माणकोलागि बजेट पनि थप गर्ने स्वास्थ्य मन्त्रीले प्रतिवद्धता जाहेर गरिसकेको नेता प्याकुरेलको भनाई छ ।

मन्त्रिपरिषद्को २०७५ पुष २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । प्रतिष्ठानकालागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ विघा जग्गा उपलब्ध गराइसकेको छ भने संघीय सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा ४० करोड रुपैयाँ समेत विनियोजन पनि गरिसकेको छ । यद्यपी, जग्गाको फायल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक वर्षबढी समयदेखि अड्काएर राखेको थियो ।

पत्रकार सम्मेलनमा नेकपाका प्रदेश समिति सदस्य सुखराम यादव लगायतको सहभागी थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस