ठेकेदारको लापरवाहीले ८ वर्षमा पनि बनेन मुतनी नदीमा पुल

राजविराज, ४ पौष । निर्माण कम्पनीको लापर्वाहीका कारण सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ६ स्थित मुतनी नदीको पुल निर्माण हुन नसक्दा सर्वसाधारण सास्ती झेल्न बाध्य भएका छन् ।

आठ वर्ष अघि शुरु भएको पुल निर्माण कार्य अझैंसम्म पूर्णता पाउन नसक्दा सर्वसाधारण सास्ती झेल्न बाध्य भएका हुन् । बरदाही र बनैनियाँ गाउँको बिचमा रहेको उक्त नदीमा हालसम्म पुलकालागि दुईओटा वेलको केही काम मात्र अगाडि बढ्न सकेको छैन । कुल एक करोड ७ लाख रुपैयाँमा काठमाण्डौ स्थित नीलगिरी कन्सट्रक्सनले उक्त पुल निर्माणको ठेक्का पाएको थियो ।

कम्पनी २०६९ सालमा शिलान्यास गरी काम अगाडि बढाएकोमा काम अलपत्र छाडेर दुई वर्षदेखि सम्पर्क विहीन रहेको स्थानीय यूवा विनोद साफीले जानकारी दिएका छन् । जिल्लाको अति पुरानो सडकहरुमध्येको यो सडक सधैं उपेक्षाको सिकार रहँदैआएको जानकारी दिँदै उनले भने ‘पुल निर्माण अलपत्र रहेको विषयमा सम्वन्धित निकायहरुमा दवाब दिँदैआएका छौं, अहिलेसम्म आश्वासन मात्र पाएका छौं ।’

जिल्लाको भारतीय सिमावर्ती क्षेत्रको मुख्य सडकमा पर्ने मुतनी नदीको पुल निर्माण हुन नसक्दा नदी छेउमै रहेको जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई आवतजावतमा समस्या हुने गरेको अर्का स्थानीय जितेन्द्र यादवले बताए । उनका अनुसार असारदेखि असोजसम्म कुडनमा सहित आसपास गाउँका बालबालिकाहरु विद्यालय जानबाट समेत वञ्चित रहनुपर्ने वाध्यता छ ।

‘वर्षायाम त जिल्लाको दक्षिणी भेगका वासिन्दाहरुकालागि कष्टकर हुन्छन् नै, बालबालिकाहरुलाई विद्यालय पठाउँदा नदीमा डुब्ने हो कि भन्ने डरले करिब पाँच महिना पढाईबाट नै वञ्चित हुनुपर्ने अवस्था छ ।’

बरदाही, बनैनियाँ, मोहनपुर, रम्पुरा, सखडा सहित डेढ दर्जन गाउँका वासिन्दाहरु आवत–जावत गर्ने उक्त बाटोमा पर्ने मुतनी नदीमा पुल नहुँदा जोखिम मोलेर आवत जावत गर्नुपरेको अर्का स्थानीयवासिन्दा सुदेश्वर शर्मा दुःखेसो सुनाउँछन् ।

जिल्लाभित्रकै सुदुर ग्रामिण भेगका वासिन्दाहरुको समस्यालाई कसैले पनि ध्यान नदिएको गुनासो गर्दै उनले भने ‘पुल निर्माण कार्य अलपत्र रहेको विषयमा स्थानीय सरकारलाई जानकारी गराउँदा पनि सुनुवाई हुन सकेको छैन, सधै दुःख र समस्या झेल्नु यस भेगका वासिन्दाहरुको नियति नै भईसकेको छ ।’

मुतनी नदीको पुल निर्माण अलपत्र रहेको विषयमा निर्माण कम्पनीका प्रोप्राइटर युवराज डाँगीले विभिन्न आन्दोलन, लकडाउन लगायतका विशेष परिस्थितिका कारण निर्माण कार्य रोकिएको बताएका छन् ।

हालसम्म भएको निर्माण कामको रिभ्यालुएसनकालागि निवेदन दिएको जानकारी दिँदै चाँडै काम शुरुवात गरी एक वर्षभित्रै पूर्णता पाउने प्रतिवद्धता जनाएका छन् ।

यो पनिः

११ वर्षमा पनि बनेन घोरदह नदीको पुल !

समाचार प्रभावः ११ वर्षदेखि अलपत्र पुलको निर्माण सुरु

Author:



क्याटोगरी छान्‍नुहोस