प्रतिगमन नसच्चिए राष्ट्रिय मुक्ति आन्दोलन गर्न बाध्य हुनेछौंः नेता महतो

राजविराज, ९ माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन नसच्चिए आफुहरु राष्ट्रिय मुक्ति आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।

प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले शुक्रवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । संविधानमै नभएको व्यवस्था जबरदस्ती लादेर प्रतिनिधि सभा विघटन गरेर राजा महेन्द्रकै पथमा अगाडि बढेको बताउँदै उनले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमन नसच्चिए राष्ट्रिय मुक्ति आन्दोलन गर्न हामी बाध्य हुन्छौं, उक्त आन्दोलनमा हिमाल, पहाड र मधेशका आदिवासी, जनजाति, दलित, मुस्लिम, खस आर्य लगायत शोषित उत्पीडित सम्पूर्ण जनताको सहभागिता सहभागिता रहनेछ र यो आन्दोलन अन्तिम एवम् निर्णायक हुनेछ ।’

प्रतिनिधि सभा पुनरस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै जसपाका वरिष्ठ नेता महतोले अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवम् लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफुहरु आशावादी रहेको बताए । सम्मानित अदालतको फैसला आफुहरुलाई मान्य हुने बताउँदै उनले भने ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विफल पार्ने प्रयास भईरहेकोले हामी त्यस विरुद्ध आवाज उठाएका हौं, लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन तर चुनाव समस्याको समाधान होइन, देशमा फेरी अर्को सङ्कट निम्तिने खतरा निम्तिन सक्छ ।’

जनता समाजवादी पार्टी देशको वैकल्पिक शक्तिको रुपमा उदाएको भन्दै नेता महतोले यही पार्टीले हिमाल, पहाड र मधेशको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकोले जनलहर बढेको दावी गरे । नेकपा, नेपाली काङ्ग्रेस लगायतका पार्टी मधेशी लगायत शोषित उत्पीडित जनताकालागि बेईमान सावित भईरहेको टिप्पणी गर्दै नेता महतोले भने ‘ती पार्टीहरु इमानदार भएको भए जननिर्वाचित प्रतिनिधि रेशम चौधरी अहिलेसम्म जेलमा हुने थिएन, न्याय र समानताको आवाज उठाउने नेल्सन मण्डेलाले २९ वर्षसम्म जेल बस्नुपरेको छ, एक दिन अवश्य न्याय मिल्छ नै ।’

शहीदहरुको योगदानप्रति जनता समाजवादी पाटी र प्रदेश २ सरकार गम्भीर रहेको शहीद परिवारको भरणपोषण र रोजगारीसम्मको सुनिश्चिता गर्ने कार्य भईरहेको उनले बताए । नेपाल भारत बीच सदियौंदेखिको सम्वन्ध रहँदैआएकोमा वर्तमान सरकारले उक्त सम्वन्धमा समेत तिक्तता ल्याउने काम गरेको बताउँदै नेता महतोले भने ‘सिमा वारी र पारी बेटी रोटीको सम्वन्ध रहँदैआएको छ तर सिमामा सहज आवागमन नभएका कारण दुलहा दुलहीलाई समेत खेत भएर पैदलै हिडेर आवत जावत गर्नुपर्ने अवस्था छ ।’ अझैं पनि मधेशमा नागरिकता समस्या विद्यमान रहेको चर्चा गर्दै वरिष्ठ नेता महतोले लाखौं लाख जन्मसिद्ध सन्तान नागरिकता विहीन भएर थरिथरीका समस्या झेल्नुपरेको छ ।

प्रेस मञ्चका जिल्ला अध्यक्ष शुभचन्द्र झाको अध्यक्षमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पूर्व मन्त्री रेणु यादव, सदस्यद्वय मनिष सुमन, नेत्रविक्रम साह, पार्टीका नेताहरु जयप्रकाश ठाकुर, सुनिल कुमार झा, रामप्रित यादव, विनिता यादव, पूनम कुमारी यादव लगायतका नेताहरुको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780