अत्यधिक चिसोमा पनि कोशी स्नान र मेला भर्नेहरुको घुइँचो

राजविराज, १५ माघ । अत्यधिक चिसोका बावजुद सप्तरीको कोशी ब्यारेजलगायतका जलाशायहरुमा नुहाएर विहीवार पुसी पुर्णिमा मनाइँदैछ । हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको छ ।

ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, भारतको पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखीलगायतका स्थानहरुबाट कोशी स्नान गर्न आएको स्थानीय सञ्चारकर्मी राजु शर्माले जानकारी दिए । उनका अनुसार बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी घुइँचो लागेको छ ।

कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि महत्वपूर्ण मानिन्छ । यसकारणले पनि कृषक समुदायको कोसी मेलामा बढी उपस्थिति हुने गरेको स्थानीयहरु बताउँछन् । कोसी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेला लागेको छ ।

पौषशुक्ल पुर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी लगायतका जलासयहरुमा नुहाएर मिठोचोखो खाने चलन रही आएको छ ।

पुसी पूर्णिमाका दिन जलाशायहरुमा नुहाए पापबाट मुक्ति पाउने र गंगास्नान गरे सरह हुने जनविश्वास रहँदै आएको छ । दही, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु यस दिन मुख्य रुपमा खाइन्छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलनका कारणले पनि यस पूर्णिको दिन कोसी स्नान गर्न आउनेहरुको संख्या अत्यधिक रहने गरेको पण्डित राजीव झाको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस