विस्फोट प्रकरणः होलीकै दिन दुई आरोपी समातिए

राजविराज, १७ चैत । सिरहास्थित मालपोत कार्यालय लहानमा गराएको प्रेसरकुकर बम विस्फोटको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाकै सुखीपुर नगरपालिका–५ का २५ वर्षीय राम रिझन यादव र लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरी छन् ।

दुई नम्वर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको बिशेष टोलीले दुवै जनालाई सोमवार सुखीपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका यादव यसअघि पनि २०७४ चैत ९ गते लहानस्थित विकास ज्वेलर्स र विराटनगर उपमहानगरपालिका कार्यालयमा बम विस्फोट गराएका थिए ।

ज्वेलर्समा गराएको विष्फोट मुद्दामा यादव सिरहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएको थियो भने महानगरपालिका कार्यालयमा गराएको बम बिष्फोट मुद्दामा पनि मोरङ जिल्ला अदालतबाट ३५ हजार धरौटी तिरेर रिहा भएको प्रहरीले जनाएको छ ।

यसैगरी पक्राउ परेका गिरी पनि विगत ५ बर्षदेखी जयकृष्ण गोइत नेतृत्वको तराई जन्तान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) मा संलग्न रहेर बलपुर्वक चन्दा असुली गर्ने काम गर्दै आएको २ नम्वर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

उनका अनुसार यादवको कमरबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली बरामद भएको छ भने गिरिको साथबाट पनि एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने २ राउण्ड गोली बरामद भएको हो ।

दुवै जनाले विस्फोटमा आफुहरुको संलग्नता रहेको स्वीकार गरिसकेको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । गत चैत १ गते दिउँसो मालपोतमा भएको विस्फोटमा परेर ८ जना घाइते भएका थिए । सोही दिन तराई जन्तान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति जारी गर्दै विस्फोटको जिम्मा लिएका थिए । विस्फोट गराएको आरोप यसअघि पनि प्रहरीले एक जनालाई पक्राउ गरिएको थियो ।

यो पनिः

मालपोत कार्यालय सिरहामा बम विस्फोट, आधा दर्जन व्यक्ति घाइते

अपडेटः जनतान्त्रिक तराई मुक्ति माेर्चाले लिए विस्फोटको जिम्मा

Author:



क्याटोगरी छान्‍नुहोस