ओलीलाई कुर्सीबाट नहटाएसम्म चैनको स्वास लिन सकिदैनः कोइराला

राजविराज, ३ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट नहटाएसम्म चैनको स्वास लिन नसकिने बताएका छन् । शुक्रवार राजविराजमा ‘राजविराज आँखा एण्ड जेनरल हस्पिटल’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान सरकार ले अराजकता बढाएकोले यसलाई हटाउन अतिआवश्यक भइसकेको उनले बताए । ‘अहिले देश जटिल मोडबाट गुज्रिरहेको छ’ उनले भने–‘त्यसैले यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनु अतिआवश्यक छ ।’

नेता कोइरालाले संसदीय व्यवस्थामा विश्वास नगरेको भन्दै प्रधानमन्त्री ओलीले संसदलाई पनि निकम्मा पार्ने खेल खेलिरहेको आरोप लगाए । अहिलेको निकास भनेकै सहमतिको सरकार बनाएर अघि बढ्नुपर्ने उनको भनाई छ ।

हस्पिटलका अध्यक्ष संतोश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव लगायतले शुभकामना दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस