कोरोना कहरः सप्तरीका सरकारी कार्यालयहरु धमाधम बन्द हुँदै

राजविराज, २४ वैशाख । बढ्दो कोरोना संक्रमणका कारण सप्तरीका सरकारीहरु धमाधम बन्द हुन थालेको छ । संक्रमणबाट बच्न–बचाउन र केही कार्यालयका कर्मचारीहरु पनि संक्रमितसँग कन्ट्याक्ट ट्रेसिङमा परेपछि कार्यालयहरु बन्द थालेको हो ।

पछिल्लो पटक आज (शुक्रवार) भूमि सुधार तथा मालपोत कार्यालय राजविराजले सूचना जारी गर्दै आइतवार (वैशाख २६ गते)बाट लागु हुने गरी अनिश्चितकालकालागि सेवा बन्द गरेको छ । कार्यालय आसपासका क्षेत्रमा रहेको संत्राशको अवस्थालाई मध्यनजर गरी कर्मचारी र सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि सो निर्णय गरिएको कार्यालयले जनाएको छ ।

यद्यपी, आन्तरिक तथा प्र्रशासनिक कार्य भने भइरहने कार्यालयका निमित्त मालपोत अधिकृत वैद्यनाथ यादवद्वारा जारी गरिएको सूचनामा छ ।

यसअघि कर्मचारी कन्ट्याक्ट ट्रेसिङमा परेपछि राजविराज नगरपालिकाले पनि अनिश्चितकालका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

उता, सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को संक्रमणलाई रोकथाम गर्न शहरी क्षेत्रमा लगाइने हटिया (हाट) क्षेत्रमा अनिश्चितकालका लागि आवागमन निषेध गर्ने निर्णय गरेको छ । हिजो (विहिबार) विहान बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकबाट भोली (शनिवार) मध्यरातबाट लागु हुने गरी हटिया क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

निर्णय अनुसार सदरमुकाम राजविराज, रुपनी, कठौना, कल्याणपुर, खर्चुहिया, पातो, बोदे बरसाईन, तोपा बजार, महुली बजार, पत्थरगाढा, तोपा, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, हनुमान नगर, भारदह, बरमझिया, कञ्चनपुर, फत्तेपुर, वीरेन्द्र बजार, महुलीसहितका शहरी क्षेत्रका हटिया क्षेत्रमा आवागमन निषेध गरिएको छ ।

यो समाचार तयार पार्दासम्म सप्तरीमा सक्रिय संक्रमितको संख्या २६४ छ भने हाल संक्रमणबाट ४७ जनाले ज्यान गुमाइसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस