जनकपुर प्रादेशिक अस्पतालमा ८ वटा भेन्टिलेटर जडान गरिँदै

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको मातहतमा सञ्चालित कोभिड अस्पतालमा एकैसाथ आठवटा नयाँ भेन्टिलेटर जडान सुरु भएको छ । सामाजिक विकास मन्त्रालयले खरिद गरी उपलब्ध गराएको नयाँ भेन्टिलेरमध्ये आज चारवटा जडान भइसकेको र भोलिसम्म सबै भेन्टिलेटर जडान भइसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए ।

यसअघि सञ्चालनमा रहेका चारवटै भेन्टिलेर बिग्रिएपछि कोरोना संक्रमित जटिल बिरामीलाई अन्तै फर्काउनुपरेको थियो । तर अहिले ती भेन्टिलेटरमध्ये दुईवटा मर्मत गरी सञ्चालनमा ल्याइएको छ । ‘सबै भेन्टिलेटर जडान भइसकेपछि हामी १० वटासम्म भेन्टिलेटर रन गर्नेछौँ । कुनैबेला पनि बिग्रिने भएकाले दुईवटा होल्डमा राख्छौँ,’ उनले भने ।

प्रादेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा कोरोना संक्रमितका साथै वा अन्य जटिल बिरामीले ज्यान गुमाउनुपरेको भन्दै प्रदेश सरकारको व्यापक आलोचना हुँदै आएको थियो ।

यसअघि यूएस एडको सहयोगमा दिइएको चारवटा भेन्टिलेटर गत बुधबार जडान गरिएको थियो । तर, उक्त भेन्टिलेटरहरू २४ घण्टासमेत चल्न नसकेर बिग्रिएको मेडिकल सुपरिटेन्डेन्ट यादवले बताए । अहिले जडान भइरहेको यो आठवटै भेन्टिलेटर बिरामीका लागि ठूलो राहत उनको विश्वास छ ।

Author:



क्याटोगरी छान्‍नुहोस