बारम्बार बिभिन्न बहानाबाजी र राजनैतिक जाल–झेल गरेर मधेशी समाज, मधेशी जनभावना, मधेशी शहिद र मधेशी जनताको अपमान गर्नु नेपालका तानाशाही र एकल जातीय बर्चस्व राख्ने खशबादी नेताहरुको स्वाभाविक मनोदशा मात्र भएको होईन, यी कुटिल र धुर्त नेताहरुको व्यक्तिगत परिपाटी नै बसीसकेको छ ।
हिजो–अस्ति आफ्नो दुई तिहाई बहुमत पुर्याउन प्रधानमन्त्री केपी ओली ज्यूले तत्कालिन समाजवादी पार्टीका अधक्ष्य उपेन्द्र यादव ज्यूसँग मधेशी आन्दोलनकारीको मुद्दा फिर्ता लिने, मधेशीको माग सम्बोधन गर्ने अनि मधेसी समाजको हकहितको लागि संबिधान संशोधन समेत गर्न राजि भई तमाम समझौता गर्नुभयो र समाजवादी पार्टी अध्यक्ष ज्यूले बिगतको सबै तिता–मिठा बिर्सेर मधेशी जनताको अधिकार पाउने आशमा तत्काल सरकारमा सामिल हुनुभयो । तर, नेपालको मधेशी जनतालाई कहिले इण्डियन त कहिले बिहारी र मोदीका पुत्र भनेर अपमान गर्ने, मधेसी आन्दोलनकारी जनताको शिरमा ताकेर गोली हान्ने आदेश दिएर सयौं मधेसी जनताको ज्यान लिने, मधेश आन्दोलनका मधेसी शहिदहरुलाई रुखबाट झरेको आँप भनेर मान–मर्दन गर्ने अनि मधेशी जनताले हुलाकी राजमार्गमा बनाएको विश्वकै ठुलो मानव–साङलोलाई माख्खे साङलो भनेर तिरस्कार र अपमान गर्ने ओलीले उपेन्द्र यादव ज्यूसँग गरेको तमाम सम्झौताहरुलाई केवल कागजमा सिमित पारिदिनु भयो ।
वहाँको बारम्बारको आग्रह र अनुरोधलाई समेत बेवास्ता गरिरहे तर मधेशी अधिकारका लागि कटिबद्ध र प्रयासरत रहनु भएका उपेन्द्र यादव ज्यूले पनि हार मान्नु भएन । तत्कालिन सरकारमा केहि समयपछि कानून मन्त्रीको जिम्मेबारी पाउनु भएको बेला जब वहाँले संबिधान संसोधनको प्रस्ताब प्रधानमन्त्री समक्ष ल्याउनुभयो । तब खसबादी जातीय बर्चस्वको अहंकार र पूर्वाग्रहले पैतालादेखि टुप्पीसम्म भिजेका ओलीले त्यो प्रस्ताव अस्विकार मात्रै गर्नु भएन, झन् ‘STOP IT’ भनेर घोर अपमान समेत गर्नुभयो ।
त्यो दिन केवल तत्कालिन कानून मन्त्री उपेन्द्र यादव ज्यू मात्र अपमानीत हुनु भएन, त्यो दिन रावण समान घमण्ड राखेका ओलीले सम्पूर्ण मधेसी जनताको त्याग, मधेशी शहिदहरुको बालिदान र मधेशी स्वाभिमानलाई निर्मम तरिकाले कुल्चिनुभयो । मधेशी जनता र मधेशी सहिदको यत्रो अपमान हेरेर वहाँले आफ्नो मन्त्री पदको लोभलाई त्याग गरेर तत्काल राजिनामा दिएर सरकारबाट समर्थन फिर्ता लिनुभयो ।
तर, मधेशीलाई फुटेको आँखाले पनि देख्न नसक्ने ओलीले मधेस मुद्दा, मधेसीको अधिकार र मधेशी राजनीतिलाई सदाका लागि समाप्त पार्न फेरी कुटिल राजनैतिक चाल चल्नु भयो । महाभारतका शकुनी समान ओलीले समाजबादी पार्टी र राजपाका केहि नेताहरुलाई लोभमा पारेर दुईटै पार्टीलाई फुटाएर दुवै पार्टीलाई समाप्त पार्न खोज्नु भयो । तर त्यो बेला यी दुईटै पार्टीका शिर्ष नेताहरुले आफ्नो सुझ–बुझ देखाएर दुईवटै पार्टीलाई एक बनाएर त्यो शकुनी षड्यन्त्रलाई विफल पार्नु भयो । त्यो क्षण केवल शकुनी षड्यन्त्र मात्र विफल भएन, त्यो क्षण मधेसी जनता, मधेशी शहिद र मधेशी जनभावनाको लागि गौरव र स्वाभिमानको कोसेढुंगा साबित भयो । साथै मधेशी जनता र समाजलाई हेपाहा दृष्टिले हेर्ने नेताहरुको गालामा दह्रो थप्पड खाने क्षण पनि सावित भयो ।
तर, आज फेरी ओलीले त्यहि शकुनी चाल चलेका छन् । आज फेरी मधेशका शिर्ष नेताहरुले आफ्नो सुझ–बुझ देखाउने क्षण आएको छ, मधेसी जनता, मधेसी सहिद र मधेशी पार्टीका कार्यकर्ताहरुको स्वाभिमान र सम्मान बचाउने क्षण आएको छ । मधेसी जनता, मधेशी सहिदको अपमानको बदला लिने क्षण आएको छ । फुटेर हैन, जुटेर जाने क्षण आएको छ । मलाई विश्वाश छ, यस पार्टीका शिर्ष नेताहरुले आफ्नो सुझ–बुझ देखाएर सम्पूर्ण मधेशी जनता, मधेशी सहिद र यस पार्टीका कार्यकर्ताको सम्मान र स्वाभिमानको रक्षा गर्ने छन् र मधेशी जनता, मधेसी सहिद र मधेसी राजनीतिलाई समाप्त पार्ने उद्देश्य लिएका अहंकारी नेताहरुको गालामा राजनैतिक थप्पड हिर्काउने छन् ।
लेखक आ.अन्जु कुमारी यादव नेपाल इन्जिनियरिंग सोसाइटी (एनइएस)की कोषाध्यक्ष हुन् ।