सप्तरीमा थप छ जना कोरोना संक्रमितको मृत्यु

राजविराज, ११ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको हो ।

तीन जनाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल शिक्षण अस्पताल र विराट शिक्षण अस्पताल विराटनगरमा १–१ जनाको मृत्यु भएकोे कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

डाक्नेश्वरी नगरपालिका–७ की ५० वर्षीया महिला, सुरुङ्गा नगरपालिका–११ का ७५ वर्षीय पुरुष र कञ्चनरुप नगरपालिका–४ का ४६ वर्षीय पुरुषको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा हिजो मृत्यु भएको छ । तीनै जनामा हिजै संक्रमण पुष्टि भएको थियो ।

यसैगरी राजविराज नगरपालिका–१ का ६८ वर्षीय पुरुषको विराटन शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । जेठ ७ गते संक्रमण पुष्टि भएको उनको पनि हिजै मृत्यु भएको छ । यसैगरी महादेवा गाउँपालिका–३ का ७२ र राजविराज–९ का ७० वर्षीय संक्रमित पुरुषको आज मृत्यु भएको निमित्त प्रमुख यादवले बताए ।

उनका अनुसार वैशाख ३१ गते ७२ पुरुषमा संक्रमण पुष्टि भएपछि उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएकोमा आज उनको मृत्यु भएको छ भने ७० वर्षीय पुरुषमा जेठ ८ गते संक्रमण पुष्टि भएको थियो । उपचारको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको उनको उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

योसँगै सप्तरीमा कोरोनाको दोस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । पहिलो लहरमा सप्तरीमा ४१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस