विकास निमार्णमा शक्रिय बन्दै महिलाहरु

सक्षम भारद्वाज
राजविराज । चुलोचौकामै दिन विताउने गरेकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुराकी ममताकुमारी खत्वेको यतिबेला दैनिकी नै फेरिएको छ । उनी वडामा हुने गरेको विकासीय काममा समेत सहभागिता जनाउन थालेकी छन् ।

पहिला गाउँमा विकास निर्माणका काम हुँदा पुरुषहरु मात्र सहभागी हुन्थे तर आजभोलि महिला पनि त्यस्ता काममा सक्रियतापूर्वक लागिपरेको देखिन्छन् । ममता भने आजभोलि बिहानै सबेरै उठेर घरको काम सकेर दिउँसोको खाजा बोकी विकास निर्माणको काममा जान थालेकी छिन् । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा विकास निर्माणको काम हुन थालेपछि सकरपुराका मात्र हैन वडा नं. १ तिलाठी, २ लौनियाँका महिलाको समेत दैनिकी फेरिएको छ ।

उनी भन्छिन्, ‘हामीले बाटो र कुलो बनाउने काम गरिरहेका छौँ । पुरुषको भन्दा छिटो गरिरहेका छौँ ।’ विकास निमार्णका सहभागी हुँदा ज्ञान र सीपका साथै ज्याला पाउँदा निकै खुसी लागेको उनको भनाइ छ । पहिला कहिलेकाँही कतै काम गर्न जाँदा पुरुषभन्दा कम ज्याला पाउने गरेको तितो अनुभव सुनाउँदै उनी भन्छिन् “अहिले त पुरुष र महिला सबैले समान ज्याला पाउने गरेका छन् ।” सकरपुराकी ममताकुमारी खत्वे जस्तै तिलाठी कोइलाडी गाउँपालिकाभित्रका २१५ जना महिला प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विकास निर्माणमा प्रत्यक्ष काम गर्दै आएका छन् ।

महिलाहरु घरभित्रको कामकाज गर्नुपर्छ, बाहिर गएर काम गर्ने पुरुषको काम हो भन्ने मानसिकता रहेको समाजमा अहिले ब्यापक परिवर्तन भएको देखिएको छ । महिलाहरु घर बाहिर पनि पुरुष जत्तिकै काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन् तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुराका महिलाहरु । गाउँपालिका भित्रको विकास निर्माणका काममा महिलाको सहभागिता बढ्दै गएपछि पुरुषवादी सोचमा परिवर्तन देखा परेको हो ।

प्रायः जसो घरको काममा मात्रै सीमित रहने महिला अहिले भने विकास निर्माणका काममा सहभागी हुन थालेका छन् । पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत भईरहेको विकास निर्माणका काममा पुरुषभन्दा महिला बढी सहभागी हुन थालेका छन् । महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण जस्ता काममा सहभागी हुन थालेको प्रधानमन्त्री रोजगार कार्यक्रममा प्राविधिक सहायक दिपेन्द्रकुमार बताउँछन् ।

बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुँदा महिलालाई ज्ञान र सीपका साथै आर्थिक उपलब्धि समेत हुने गरेको प्राविधिक सहायक दिपेन्द्रकुमारको कथन छ । बेरोजगार ब्यक्तिलाई लक्षित गरी न्यूनतम एक सय दिनको रोजगारी दिने उद्देश्यले सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएका श्रमिकहरुका लागि बैंकमार्फत भुक्तानी दिने ब्यवस्था मिलाइएको तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा बताउँछन् ।

कार्यक्रमको निर्देशन बमोजिम सूचिकृत बेरोजगारहरुको समूह बनाई साना सिंचाईको लागि कुलो निर्माण, निर्माण गरिएका पुराना कुलोहरुको मर्मत सम्भार, सडक निर्माण जस्ता उत्पादनमुलक काममा बेरोजगारहरुलाई काममा लगाइएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत झा भन्छन्, “काममा लगाइएको सबै बेरोजगार श्रमिकहरुको बैंकमा खाता खोलाइएको छ र गाउँपालिकाबाट बैंकमार्फत नै पारिश्रमिक भुक्तानी गर्ने गरिएको छ ।”

तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीकी सुमिन्द्रादेवी रामले पहिलो पटक बैंकमा आफ्नो खाता खोलेकी छिन् । उनले भनिन्, ‘म अहिले ५५ वर्ष पुगेँ तर मैले अहिलेसम्म कुनै बैंकमा खाता खोलेको थिइनँ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएपछि बैंकमा खाता खोल्नुपर्छ भन्दा मात्रै गाउँपालिकामा रहेको बैंकमा खाता खोलें ।”

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आवेदनमा परेकामध्ये ७ सय ५६ जना रोजगारीका लागि सूचिकृत भएका छन् । जसमा ३३४ महिला रहेको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक ज्योती यादवले बताइन् । गाउँपालिकामा २५० पुरुष र २१५ जना महिलाले ५१७ रुपैयाँका दरले दैनिक ज्यालामा सय दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार पाइरहेको कार्यक्रमका संयोजक यादवले बताइन् । काम गर्ने श्रमिकलाई लाभग्राही परिचय पत्र दिइएको छ भने उनीहरुको सात लाख रुपैयाँको बीमा समेत गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकामा चालु आर्थिक बर्षमा एक करोड ९ लाख रुपैयाँ प्राप्त भएको गाउँपालिकाको आर्थिक प्रशासन शाखाले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत निर्माण कार्यमा महिलाको सहभागिता हुँदा आफूलाई खुशी लागेको बताउँदै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले पुरुषवादी मानसिकतालाई चिर्दै महिला पनि विकास निर्माण कार्यमा सहभागी हुँदा त्यसबाट पारिवारिक आयमा वृद्धि हुने बताउँछन् ।

विगतमा पुरुषमात्र निर्माण कार्यमा जाने, महिला घरकै काममा दिन बिताउने गरेकामा पछिल्लो समय महिला पनि विकास निर्माणको काममा लागेर स्वरोजगारतर्फ उन्मुख भएको अध्यक्ष सिंहको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस