सप्तरीमा कोरोनाको दोस्रो लहरः ५५ दिनमा १०१ जनाले ज्यान गुमाए

राजविराज, २६ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो पटक कञ्चनरुप र सुरुङ्गा नगरपालिका तथा अग्निसाइर कृष्णसवरण गाउँपालिकाका १–१ जना पुरुषको मृत्यु भएको हो ।

कञ्चनरुप–८ का २५ वर्षीय पुरुष, सुरुङ्गाका–४ का ४० वर्षीय र अग्निसाइर कृष्णसवरण–१ का ८० वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए । उनका अनुसार जेठ १९ गते संक्रमण संक्रमण देखिएका २५ वर्षीय पुरुषको २० गते होम आइसोलेसमा, १६ गते संक्रमण देखिएका ४० वर्षीय पुरुषको आज हेल्थ पोष्ट कञ्चनपुरमा र २४ गते संक्रमण देखिएका ८० वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।

योसँगै कोरोनाको दोस्रो लहर (वैशाख ३ गतेपछि) सप्तरीमा संक्रमणबाट मृत्यु हुनेको संख्या १०१ पुगेको छ । यसअघि पहिलो लहरमा सप्तरीमा संक्रमणबाट ४१ जनाले ज्यान गुमाएका थिए ।

दोस्रो लहरमा हालसम्म सप्तरीमा कुल २ हजार २६ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ हजार २२२ जना निको भएका छन् । हाल ७१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस