अभियन्ता रायको पहलमा आइसोलेसन केन्द्र तयार, निःशुल्क उपचार हुने

जनकपुरधाम । सर्लाहीमा सामाजिक अभियन्ता सरोज रायको पहलमा निर्माण गरिएको ‘टीएमएनसी आइसोलेसन सेन्टर’ नामक २५ बेडको कोभिड –१९ अस्थाई आइसोलेसन केन्द्रको उद्घाटन भएको छ । बरहथवा नगरपालिका–१० स्थित महेन्द्र रत्न जगरनाथ लक्ष्मीनियाँ माध्यमिक सितापुरको परिसरमा निर्माण भएको सो आइसोलेसनको विहिवार उद्घाटन भएको हो ।

आइसोलेसन केन्द्रको कार्यकारी निर्देशक समेत रहेको अभियन्ता सरोज राय, नगरप्रमुख देवानन्द महतो, इलाका प्रहरी प्रमुख डिएसपी उद्धव सिंह भाट र विधालय व्यवस्थापन समिति अध्यक्ष रामबाबु राय यादवले संयुक्त रुपमा आइसोलेसन केन्द्रको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमको अध्यक्षता गरेको अभियन्ता रायले सो आइसोलेसन केन्द्र हालको संक्रमितको पूर्णरुपले निःशुल्क उपचारको साथ तेस्रो लहर आउने सम्भावना समेतलाई ध्यानमा राखी स्थापना गरिएको बताए ।

चिकित्सक सेवा लगायत अन्य जाँच, औषधी, पोषिलो खाना लगायत सम्पूर्ण सेवा निःशुल्क हुने उनले बताए । सो सेन्टरका लागि पाँच जना चिकित्सक, नर्स तथा अन्य प्राविधिक व्यक्तिको व्यवस्था गरिएको छ । सोही कार्यक्रममा अभियन्ता रायले टीएमएनसी सदस्य सप्तरी बोदेबर्साइनका आलोक यादवको कोरोनाबाट भएको असमायीक निधन प्रति दुख व्यक्त गरे ।

आइसोलेसन केन्द्र स्थापनाको प्रशंसा गर्दै प्रमुख अतिथि नगरप्रमुख देवानन्दले युवाहरुको प्रयाश र निस्वार्थ योगदानलाई बरहथवाको माटोले कहिले विर्सन नसक्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रहरी प्रमुख डिएसपी उद्धव सिंह भाटले अभियन्ता रायले गर्दै आएको विभिन्न सामाजिक कार्य प्रति निकै प्रभावित रहेको भन्दै सेन्टरमा चाहिने आवश्यक सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिवद्धता गरे ।

अभियन्ता रायका अनुुसार आइसोलेसन निर्माणमा भोलेन्टियर्स कार्प नेपालले २५ थान आक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्री, जनकल्याण समाजले ४० थान नेवोलाइजर र संजय पुस्तक भण्डारले केहि थान मास्क र फेस शिल्ड, लालबाबु राय, महेन्द्र ठाकुर र मदन गुप्ताले २५ थान औषधी राख्ने स्टेन्डको साथै स्थानीय केहि दाताबाट आर्थिक सहयोग गरेका छन् ।

यसैगरी बालविकास नेपालले केहि थान थर्मलगन र सेनेटाइजर उपलब्ध गराउनुको साथ केन्द्रलाई चाहिने औषधी र खादान्न सामग्रीमा पनि सहयोग गर्ने संस्थाको अध्यक्ष विरेन्द्र यादवबाट आश्वासन आएको उनले बताए । यसैगरी भेनस अस्पतालले विरामीको निःशुल्क ल्याब परिक्षण गर्ने जनाएको छ ।

उद्घाटन कार्यक्रममा वडाध्यक्ष राम जिनिस साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु राय यादव, सर्लाही कोभिड–१९ रापिड रेस्पोन्स टिमका संयोजक नविन यादव, प्रधानाध्यापक देवीदत्त प्रसाद यादव, डा. सत्यनारायण यादव, विसिएनको उपाध्यक्ष राधा मतांगी, बालविकासको सुनिल यादव, मेडिकल टिमबाट ड़ा. धर्मेन्द्र यादव, डा. रंधिर यादव, हेल्थ असिस्टेन्ट पप्पु यादव र खुसीलाल यादव, फिजियोथेरापिस्ट अमर महतो, पत्रकार विश्वनाथ ठाकुर लगायतको उपस्थिति थियो ।

आइसोलेसन केन्द्रमा भर्ना भएका हरेक विरामीको लागि टुथब्रस र पेस्ट, साबुन, सेनेटाइजर, मास्क, चपल्ल, नेवोलाइजर, चवनप्रास, वेसारयुक्त दुध, काढा आदिको व्यवस्था गरिएको र दक्ष मेडिकल टिमबाट उपचार हुने व्यवस्था मिलाइएको जानकारी अभियन्ता रायले दिए । साथै, ओपिडी सेवा र पिसिआर जाँचको लागि चाँडै व्यवस्था मिलाउने जानकारी समेत उनले दिए ।

केन्द्र सञ्चालन गर्न समिति गठन

टीएमएनसी आइसोलेसन केन्द्र संचालनको लागि गठन गरिएको संचालक समितिको कार्यकारी निर्देशकमा अभियन्ता सरोज राय, व्यवस्थापन संयोजकमा नविन यादव, आर्थिक संयोजकमा बिरेन्द्र यादव, यातायात व्यवस्थापन संयोजकमा सरोज कुशवाहा, खादान्न र औषधि संयोजकमा घनश्याम झा, प्रचार प्रसार संयोजकमा कृष्ण दाहाल, स्वंमसेवक संयोजकमा संजिव यादव, मेडिकल इन्चार्जमा डा. राजेश यादव र विद्यालयबाट एकजना रहने गरि गठन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस