बजेट माग्न मन्त्रालय चहार्दै देशकै ज्येष्ठ वडा अध्यक्ष

जनकपुरधाम । जेठ महिनाको चर्को घाम । धोती कुर्ता र गम्छा पोशाक, काँधमा साधारण झोला अनि हातमा लौरो । लौरोको सहाराले पाइला टेक्दै एक वृद्ध करिब एक बजे प्रदेश नम्वर २ स्थित मधेश भवन छिरे । कतिपयलाई लाग्यो सामाजिक सुरक्षा भत्ता लिन आएका वृद्ध बाटो बिराएर मधेश भवन छिर्यो कि । मधेश भवनको गेटमा रहेका सुरक्षाकर्मीहरुलाई आफु मन्त्री भेट्न आएको भन्दै उनी लौरोको सहाराले मन्त्रालयहरु चहार्न थाले ।

मन्त्री भेट्न भौतिक पूर्वाधार तथा योजना मन्त्रालय, आथिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय चहारे तर मन्त्रीहरुसँग भेंट भएन । प्रदेश सभाको बैठकमा सहभागी हुन मन्त्रीहरु निस्किसकेकाले ती वृद्धले भेट्न पाएन ।

 लौरौ टकटकाउँदै उनी थकाई मार्न मुख्य न्यायाधिवक्ता कार्यालय पुगे । मन्त्रीहरुसँग भेट्न नपाएकोमा उनी अलि चिन्तित देखिन्थे । कतिबेला मन्त्रीहरु मन्त्रालय आउनुहुन्छ भनी सोधखोज गरिरहेका ती वृद्ध जसरी भए पनि मन्त्रीहरुसँगै भेटेरै घर फर्किने भनी साथमा आएका सहयोगीहरुलाई भनिरहेका थिए । ‘कोरोनाकाल भएकोले बास बस्न तथा खानपीनमा पनि समस्यै हुन्छ जस्तो छ, लामो सास तान्दै खैर जे होला, देखा जाला’ उनले थपे ‘मुख्यमन्त्री र मन्त्रीज्यूहरुसँग भेटेरै फर्किन्छु ।’

यसरी मुख्यमन्त्री तथा मन्त्रीहरु भेट्न लट्ठी टेकेर जनकपुरधाम स्थित मधेश भवन धाउने वृद्ध हुन् राजविराज नगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद यादव । जीवनको उतराद्र्धमा पुगिसकेका देशकै ज्येष्ठ जनप्रतिनिधि यादव प्रतिनिधित्व गरेको वडा तत्कालिन विसहरिया गाउँ विकास समिति हो । पटक–पटक गरी चार पटक प्रधानपञ्च तथा गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भईसकेका उनी पछिल्लोपटक वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

वडा नम्वर १३ नगरपालिकामै परे पनि बाटोघाटोको अभाव रहेको जानकारी दिँदै उनले भने ‘नगरपालिकाको वडा भए पनि वर्षायाममा बाटो हिलाम्मय रहने गरेको छ, पक्की बाटोको नामोनिसान छैन, त्यसैले प्रदेश सरकारकै बजेटमा सडक निर्माणको बजेट राखिदिन माग गर्न मन्त्रीसँग भेट्न आएको हुँ ।’ कृषि, स्वास्थ्य र सिंचाईको अवस्था पनि जर्जर रहेकोले बाध्य भएर मुख्यमन्त्री र मन्त्रीहरुलाई गुहार्न आएको वडा अध्यक्ष यादवले बताए ।

चुनावका बेला जनतासँग गरेका बाचाहरु अझैं पुरा हुन नपाएकोले प्रतिवद्धता पुरा गर्न आफु प्रयासरत रहेको उनले जानकारी दिए । वडाको बजेटबाट केही बाटोहरु ढलानका साथै निर्माण कार्यहरु गरेको बताउँदै उनले भने ‘वडाको बजेटबाट ठूला कामहरु गर्न भ्याएको छैन, त्यसैले प्रदेश सरकारलाई गुहार्न आएको हुँ ।’ गत निर्वाचनमा जनताले माया गरेर मत दिए पनि अब आउने निर्वाचनमा समेत एक पटक अझैं जितेर आएपछि बाँकी रहेका कामहरु गर्ने सोच रहेको उनले मनको बह पोखे ।

संघीय समाजवादी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित यादव एक महिनादेखि जनकपुर आउन चाहन्थे । तर लकडाउनका कारण यातायातका साधन नचलेको र मोटरसाइकलमा चढाएर पु्र्याईदिने मान्छे नभएका कारण ढिलाई भएको उनले बताए ।

स्थानीय छिमेकीलाई धेरै आग्रह गरेपछि मात्र आइतवार मात्र मोटरसाइकलमा वडाबाट करिब एक सय ३५ किलोमिटर यात्रा तय गरेर जनकपुरधाम पुर्याईदिएको वडा अध्यक्ष यादवले सुनाए । असार १ गते प्रदेशको बजेट आउन लागेकोले आफ्नो वडालाई समेत सोही बजेटमै सम्बोधन गराउनमा प्रयासरत रहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस