काल बन्दै पोखरी: सप्तरीमा एक वर्षमा २३ जनाले गुमाए ज्यान

राजविराज । सप्तरीमा एक महिनामा पोखरीमा डुबेर पाँच जना बालबालिकाको मृत्यु भएको छ । पछिल्लो पटक हिजो (सोमवार) पनि महादेवा गाउँपालिका–२ मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको हो ।

स्थानीय अनिल मण्डलकी ५ वर्षीया छोरी अपेक्षा कुमारी मण्डलको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले बताए । आफ्नै घर नजिकै रहेको पोखरीमा आफ्न्तसँग नुहाउन जाँदा बालिका डुबेकी थिइन । डुबेर बेहोस भएकी बालिकालाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

डिएसपी काफ्लेका अनुसार जेठ महिनामा मात्रै अन्य ४ जना बालबालिकाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–३ की २ वर्षिया अबिया खातुन, कंचनरुप नगरपालिका–९ की १३ वर्षिया रोशनी सरदार, तिरहुत गाउँपालिका–१ का ११ वर्षिय मनिष मुखिया र बोदेबरसाइन नगरपालिका–३ की १८ महिनाकी अस्मिता यादवको पोखरीमा डुबेर मृत्यु भएको डिएसपी काफ्लेले बताए ।

योसँगै गत वर्ष मात्रै १३ बालबालिकासहित २३ जनाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्यांक छ । सो तथ्यांकअनुसार जिल्लामा पोखरीमा डुबेर मृत्यु भइरहेको घटना बढ्दो नै देखिएको छ । विशेष गरि गर्मीको समयमा यो घटना बढी हुने गरेको पाइएको डिएसपी काफ्लेको भनाई छ ।

गर्मी बढेसँगै गाउँघरमा पोखरीमा नुहाउने क्रम बढ्ने र लापरवाहीका कारण यस्तो घटना बढी हुन थालेको उनले बताए । ‘डुबेर बालबालिकाको बढी मृत्यु हुनुका पछाडी मुख्यत अभिभावकको लापरवाही नै देखिएको छ’ उनले भने, ‘घर नजिकैको पोखरीमा स–साना बालबालिका नुहाउन जाँदा अभिभावकले निगरानी गर्नुपर्ने हो । बालबालिकामाथि अभिभावकले निगरानी राखेको देखिदैन, जसको कारणले अनाहकमै बालबालिकालाई ज्यान गुमाउ परेको छ ।’

उनले यस्तो घटना बालबालिकालाई जोगाउनको लागि पोखरी, नहर, कुलोसहितका जलाश्य भएको स्थानमा जान नदिन डिएसपी काफ्लेले अभिभावकसँग आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस