सिडिओ कार्यालय परिसरमै मधेशलाइभकर्मी यादवमाथि दुर्व्यवहार

राजविराज, १ असार । सप्तरीमा सिडिओ कार्यालय परिसरमै आज (मंगलावर) सञ्चारकर्मीमाथि दुर्व्यवहार भएको छ । कोभिड–१९ विरुद्धको खोप केन्द्र तोकिएको सिडिओ कार्यालय परिसरभित्र देखिएको अव्यवस्थित भीडको दृश्य खिच्न खोज्दा मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादवमाथि दुर्व्यवहार भएको हो ।

सहायक सिडिओ नाथु साहका छोरा आशिष साहले दृश्य खिच्न नदिने भन्दै परिसरमा पस्नसम्म सञ्चारकर्मी यादवलाई निषेध गरेका छन् । ‘म दृश्य खिच्न खोज्दा साहले खिच्न नदिने भन्दै आक्रोशित नै हुनुभयो, तपाई रोक्ने को हो ? भनेर पनि सोधे तर उहाँले म जो भएपनि दृश्य खिच्न दिन्नँ उहाँले भन्नुभयो’ एपीवान टेलिभिजनका संवाददाता समेत रहेका यादवले भने–‘त्यसपछि भित्र पस्न खोज्दा पनि तिमी जस्ता पत्रकार धेरै देखेको छु भन्दै साहले भित्र पनि पस्न दिनुभएन ।’

सहायक सिडिओ साहले सञ्चारकर्मीलाई दुर्व्यवहार नगरेको आशिषले बताएको प्रतिक्रिया दिए । यद्यपी, आशिष सो खोप केन्द्रमा के कारणले पुगेको विषयमा सहायक सिडिओ साहसँग जवाफ नै छैन् । ‘उसले दुर्व्यवहार गरेको छैन भने कुरा बताइरहेको छ’ सहायक सिडिओ साहले भने–‘त्यहाँ खोप लिन त आशिष पुगेको छैन, तर नजिकै डेरा छ र त्यहाँका प्रहरीसँग चिनजान भएकाले गएको हुनसक्छ ।’

उता, सिडिओ फणिन्द्रमणि पोखरेलले खोप केन्द्रमा प्रवेश गर्न कसैलाई पनि निषेध नगरिएको प्रतिक्रिया दिए । ‘के भएको हो भन्ने विषयमा बुझ्दै छु, बाँकी कुरा उहाँ (सहायक सिडिओ) सँगै बुझ्नुस् । उहाँ पनि जिम्मेवार व्यक्ति हुनुहुन्छ’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस