सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार प्रति महासंघले जनाए आपत्ति

राजविराज, १ असार । मधेशलाइभ अनलाइनका समाचार संयोजक सौरभ यादवमाथि भएको दुर्व्यवहारको घटना प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आपत्ति जनाएको छ ।

महासंघका सचिव रामनारायण विश्वास (आरएन विश्वास)ले आज विज्ञप्ति जारी गर्दै जनतालाई सुसुचित गर्ने जिम्मेवारीमा रहेका पत्रकारलाई कुनै पनि पनि बहानामा समाचार संकलनमा रोक लगाउनु आपत्तिजनक रहेको उल्लेख गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय परिसरभित्रै रहेको खोप केन्द्रमा सहायक प्रमुख जिल्ला अधिकारीका छोराबाट समाचार संकलनमा रोक लगाउनु आफैंमा अशोभनिय रहेको विज्ञप्तिमा ठहर गरिएको छ ।

संविधान प्रद्त अधिकारलाई कुण्ठित बनाउने काम गर्ने अधिकार कसैलाई नभएकाले त्यस्तो काम गर्ने ब्यक्तिलाई सचेत गराउँदै आगामी दिनमा यस्तो घटना नदोहर्याउन सम्बन्धित निकायसँग महासंघले आग्रह समेत गरेको छ ।

यसैगरी, नेपाल फोटो पत्रकार महासंघ शाखा सप्तरीले पनि सो घटना प्रति आपत्ति जनाएको छ । महासंघका सचिव विद्यानन्द रामले सामाजिक सञ्जालमा लेख्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप कदापी पनि स्वीकार्य नहुने भन्दै दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेका छन् ।

उनले लेखेका छन्, ‘कोरोना महामारीले अस्तव्यस्त रहेको बेला देशको चौथो अंग मानिने हामी सञ्चारकर्मीहरु यतिबेला ज्यान जोखिममा राखी आमनागरिकसमक्ष सूचना पस्किरहेका छौं । तर, यसरी सिडिओ कार्यालय परिसरमै संचारकर्मीमाथि दुर्व्यवहार भएको घटनाले दुखित तुल्याएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप कदापी पनि स्वीकार्य हुँदैन । दोषीलाई कारबाहीको दायरा ल्याइओस् सिडिओ सा’ब।’

Author:



क्याटोगरी छान्‍नुहोस