आन्तरिक उडान १७ गतेबाट खुल्ने, दैनिक ५५ उडान हुने

काठमाडौं । कोभिड नियन्त्रणका लागि झण्डै दुई महिना बन्द भएको आन्तरिक उडान १७ असारदेखि खुल्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय गरिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले उडान समय तालिका र उडान संख्या निश्चित गरिदिएलगत्तै आन्तरिक उडान गर्दै आएका बुद्ध, श्री, यती, सौर्य, सीता, समिट, तारा, गुणलगायत वायुसेवा कम्पनीले टिकट बिक्री सुरु गर्ने जानकारी दिएका छन् । कुल उडान संख्यामध्ये ५० प्रतिशतसम्म मात्र उडान गर्ने गरी अनुमति दिइने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी उडान सञ्चालन गरिने उनले जानकारी दिए । अघिल्लो वर्षको लकडाउनपछि उडान खुल्दा जारी गरिएका मापदण्डकै पालना गराइने उनको भनाइ छ । एयरलाइन्सहरू आफैँले पनि सुरक्षित उडानका लागि तयारी गरिरहेको र सरकारी नियममा पनि कडाइ गरिने प्राधिकरणले जानकारी दिएको छ । साबिककै उडान तालिकाको ५० प्रतिशत उडान स्वीकृत गर्ने वा एयरलाइन्सहरूसँग नयाँ आवेदन माग गर्ने भनेर प्राधिकरणले निर्णय गरेको छैन् ।

वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अनुसार सामान्य दिनमा बुद्ध एयरले दैनिक ६५, यती एयरलाइन्सले ३०, श्री एयरलाइन्सले १६ र सौर्य एयरलाइन्सले चार उडान गरिरहेका थिए । अब निषेधाज्ञा खुकुलो भएसँगै आन्तरिक उडान खुल्ने भएपछि सरकारले तोकेको कोटाअनुसार उडान संख्या तय हुनेछ । संघका अनुसार आन्तरिक वायुसेवाहरूले यसअघि दैनिक १ सय १० सम्म उडान गर्थे । अब कोटाअनुसार यसको आधा अर्थात् ५५ जति उडान हुनेछन् । आजको नयाँ पत्रिका दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस