काँग्रेसको प्रश्नः जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?

जनकपुरधाम, ११ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई प्रश्न गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने भन्दै प्रश्न गरेका छन् ।

‘जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ? न्यायको संरक्षक र समाधानको उत्प्रेरक कि द्वन्द्व बढाउने पक्षधरता ?’ विज्ञप्तिमा भनिएको छ । ‘समय र संसार बदलिएको छ, तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा बदलिएको छैन । दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौं तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन । नयाँ संविधान निर्माण गर्न हामी समर्थ भयौं, तर संविधान अनुरुप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त भएको छैन । यस्तो परिस्थितिमा देश बन्ने/बनाउने परिभाषाभित्र सामाजिक रुपान्तरणको प्रश्नलाई गहन आत्मसात गर्दै नविन राष्ट्रिय विमर्श थालनी गर्न अत्यावश्यक भएको छ । हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ ।’

अहिले चर्चामा रहेको रुपा सुनार सरस्वती प्रधान बीचको संवाद र विवादबाट उत्पन्न परिस्थितीबारे काँग्रेसले सरकारलाई ध्यानाकर्षण गराएको छ । जातिय भेदभावमा छुवाछूतका आरोपितलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै महानगरीय प्रहरी परिसर पुगेका थिए । सो घटनाबारे आपत्ति जनाउँदै काँग्रेसले अझै शिक्षामन्त्रीलाई कायम राखेकोमा श्रेष्ठका भूमिकाबारे जवाफ दिन नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस