कांग्रेस नेताको दौडधुपः विमलेन्द्र, शशांक र प्रकाशमान एकै ठाउँ !

काठमाडौं, १२ असार । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिँदै गर्दा सो पार्टीका तीन संस्थापक नेताका पुत्रहरूबीच निकटता पनि बढ्दै गएको छ । महाधिवेशनको सरगर्मीसँगै हालका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच महाधिवेशनमा अपनाउने रणनीति र योजनाका विषयमा गम्भीर छलफल र भेटघाटले तीव्रता पाउँदै गएको हो ।

निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र हुन् भने कोइराला बीपी पुत्र हुन् । यस्तै, सिंह गणेशमान सिंहका पुत्र हुन् । शुक्रबार महामन्त्री कोइरालाको निवास महाराजगन्जमा महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा तीन नेताबीच छलफल भएको थियो ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले आसन्न महाधिवेशन, सरकारका गतिविधि, आगामी निर्वाचनलगायतका विषयमा नेता त्रयबीचमा छलफल भएको जानकारी दिए । उनका अनुसार छलफलका क्रममा महाधिवेशनमा प्रतिस्पर्धा भए पनि आगामी महाधिवेशनबाट नेता कार्यकर्तामा कसरी एकताको सन्देश दिने र नेताहरूबीच सद्भाव कायम राख्ने भन्ने विषयमा छलफल भएको छ ।

यसअघि उपसभापति निधिको घरमा गत सोमबार नेता त्रयबीच छलफल भएको थियो । सो छलफलमा आफ्ना अग्रजको पार्टीप्रतिको योगदानलाई स्मरण गरेर सहमतिका साथ अघि बढ्ने सहमति भएको थियो । सोही बैठकमा जुटेको सहमतिअनुसार शुक्रबार पुनः नेता त्रयबीच महामन्त्री कोइरालाको निवासमा छलफल भएको हो ।

यसपछिको छलफल पूर्वमहामन्त्री सिंहको चाक्सीबारीस्थित निवासमा हुने तिवारीले जानकारी दिए ।यी तीनै नेताले आगामी महाधिवेशनमा पार्टी नेतृत्वका लागि इच्छा देखाउँदै आइरहेका छन् । निधिले संस्थापन समूहलाई नै नेतृत्वमा आफ्नो दाबी हुने भन्दै चुनौती दिँदै आइरहेका छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवाले पनि नेतृत्वमा दाबी गर्दै आइरहेका छन् । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस