मधेसमा शक्तिशाली बन्दै उपेन्द्र

लहान, १६ साउन । ‘मधेसको समस्याः विभेदको पहिचान र समाधान’ का लागि विभिन्न क्षेत्रका अगुवाको सहभागितामा २०५४ सालमा विराटनगरमा उपेन्द्र यादवको नेतृत्वमा गठन भएको मधेसी जनअधिकार फोरम विभिन्न स्वरूप पार गर्दै अहिले मधेसको सबैभन्दा शक्तिशाली राजनीतिक संगठन हुन पुगेको छ ।

फोरमले मधेसको आधारभूत समस्या समाधानका लागि २०५४ सालमा २२ बुँदे घोषणापत्र समेत जारी गरेको थियो भने २०६० साउन १० र ११ गते विराटनगरमा फोरमको पहिलो महाधिवेशन आयोजना भयो। महाधिवेशनबाट उपेन्द्र यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको थियो ।

फोरम आफ्नो झन्डा र ब्यानरसहित २०६२र६३ को जनआन्दोलनमा समेत आफ्नो सहभागिता जनाएको थियो। जनआन्दोलनको सफलतापछि संसद् पुनःस्थापना भयो। नेपालको अन्तरिम संविधान जारी भयो तर मधेसको मुद्दा कहीँकतै सम्बोधन भएन। मधेसको माग जस्ताको त्यस्तै रह्यो ।

अन्तरिम संसद्मा मधेसी अनुहार भए पनि अन्तरिम संविधानमा संघीयता, स्वायत्तता, आत्मनिर्णयको अधिकारलगायत विषय समावेश भएको थिएन, जसको विरोध गर्दै उपेन्द्र यादवले २०६३ माघ १ गते माइतीघर मण्डलामा अन्तरिम संविधानको प्रतिलिपि जलाउँदै विद्रोह गरे ।

आन्दोलनको रापतापले गिरिजाप्रसाद कोइराला सरकारलाई फोरमसँग सम्झौता गर्न बाध्य बनाइदियो। आन्दोलनले उठाएका आठमध्ये मधेस स्वायत्त राज्यको मागसहित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग २०६४ फागुन १६ गते ८ बुँदे सहमति भयो । मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा संघीयता भन्ने शब्दले प्रवेश पाउनु हो ।

२०६४ सालको संविधानसभा चुनावमा भाग लिनुअघि सामाजिक संस्थाका रूपमा रहेको फोरम नेपाल एउटा पार्टीका रूपमा आयो। पार्टी दर्ता भएपछि २०६४ को संविधानसभा चुनावमा भाग लिएको फोरम प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बनेको थियो । नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस