अस्पतालमा सिटी स्क्यान र एक्स–रे सेवा बन्द, सेवाग्राहीलाई मर्का

राजविराज, १२ भदौ । सप्तरीको एक मात्र सरकारी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सञ्चालित सिटी स्क्यान सेवा बन्द भएको छ । कक्षमा पानी जमेका कारण सिटी स्क्यान सेवा बन्द भएको हो ।

सिटी स्क्यान सेवा बन्द हुँदा विरामीहरुलाई मर्का परेको छ । ‘सिटी स्क्यान गराउन अस्पताल आएको थिए, तर यहाँका मेसिन नै सञ्चालनमा नरहेको पाइएपछि अब बढी पैसा तिरेर निजी अस्पतालमा गर्नुपर्ने बाध्यता आइलागेको छ’ तिरहुत गाउँपालिकाका हरि मण्डलले भने–‘हामी जस्ता गरिबलाई कहिले यो अस्पताल काम लागेन, जहिले आउँदा केही न केही विग्रेकै हुन्छ, अस्पताल प्रशासन र यहाँका नेता तथा नागरिक अगुवाहरुलाई वास्ता नै रहेको जस्तो लाग्छ ।’

उनले समस्या समाधान गरी सिटी स्क्यान सेवा सञ्चालन गर्न अस्पताल प्रशासनलाई आग्रह पनि गरे । सिटी स्क्यान मात्रै नभएर अस्पतालमा रहेको एक्स–रे र पिसिआर मेसिन पनि बन्द नै रहेको अर्का उपचार गराउन आएका अर्का सुनील यादवले गुनासो गरे ।

‘खासमा म बाइकबाट लडेपछि एक्स–रे गराउन आएको थिए, तर एक्स–रे सेवा तत्काललाई ठप्प छ रे’ उनले भने–‘अनि फर्किए, बाँकी त्यहाँ पिसिआर मेसिन पनि बन्द नै छ, अस्पताल नै विरामी पर्न लागेको छ हामीले के उपचार पाउने?’

उता, अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीत कुमार झाले सिटी स्क्यान र एक्स–रे मेसिन रहेको कक्षमा पानी जमेकाले तत्काललाई सेवा बन्द गर्नु परेको बताए । ‘भवनमा पानी जम्ने समस्यालाई समाधान गर्नेतर्फ कार्य भइरहेको छ’ उनले भने–‘समाधान भएसँगै ती सेवाहरु सुचारु हुन्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस