अझै दुईदिन वर्षा हुने, बाढी तथा डुबानको खतरा

काठमाडौं। अझै दुई दिनसम्म देशका अधिकांश भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मनसुन सक्रिय भएसँगै बिहीबारदेखि जारी वर्षा कम्तीमा सोमबारसम्म कायमै रहने जनाएको छ । तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने भएको छ ।

दुई दिनयता यो वर्षकै धेरै वर्षा मापन गरिएको मौसमविद्ले जनाएका छन् । सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । त्यहाँको वर्षा मापन केन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । ती क्षेत्रमा डुबानको पनि समस्या देखिएको छ ।

आज दिउँसो पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी सम्भावना रहेको महाशाखाले जनाएको छ ।

निरन्तर वर्षा भइरहने भएकाले तटीय क्षेत्रमा बाढी तथा डुबानको खतरा रहेको एवं पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस