वीपी प्रतिष्ठानमा झडप, उपकुलपति कार्यालयमा लगाइएको ताला फोडियो

प्रकाश तिम्सिना/न्युज कारखाना

सुनसरी, २१ भदौ । दुई महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागेको ताला राजनीतिक दलका कार्यकर्ताले फोडिदिएका छन् । ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि धरानमा रहेका क्रियाशील दल नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानका नेता तथा कार्यकर्ताहरूले प्रतिष्ठानका उपकुलपति कार्यालयमा लगाइएको ताला तोडेका हुन् ।

ताला फोड्ने क्रममा केहीबेर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । त्यसक्रममा भएको दोहोरो झडपमा प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् । ओपिडी सेवासमेत अवरुद्ध गरेर बिरामीहरुलाई दुःख दिएको भन्दै ताला फोड्न बाध्य भएको नेकपा एमाले धरान अध्यक्ष हर्क एभेङले जानकारी दिए ।

उनले अन्य कार्यमा आन्दोलनरत पक्षलाई सहयोग गरे पनि बिरामीको स्वास्थ्यमा खेलवाड गरेकाले प्रतिकारमा उत्रिएको बताए । उनले बिरामीहरुमाथि अन्याय नगर्नसमेत आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले पनि शुद्धीकरण आन्दोलनप्रति समर्थन रहे पनि उपचार सेवा ठप्प नगर्न आग्रह गर्दा पनि नमानेपछि विरोधमा उत्रिएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस