प्रदेश १ मा एमाले सरकारको छिनोफानो आज : विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीमा राई

बिराटनगर । प्रदेश १ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डा लगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंग्याउने कार्यसूची तय गरिएको छ ।

एमाले विभाजित हुँदा १० जना प्रदेश सांसद् एकीकृत समाजवादीमा लागेपछि एकल बहुमतमा रहेको मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । मुख्यमन्त्री आचार्यविरुद्ध काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।

प्रदेशसभामा ९२ सदस्य रहेकामा नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ४६ सांसद् संख्या आवश्यक हुन्छ ।

विपक्षी गठबन्धन काँग्रेसको २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जसपासँग तीन र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सदस्य छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780