न्युजिल्यान्डसँग हारेपछि के भारतकाे सेमिफाइनल यात्रा सकिएकाे हाे ? यस्ताे छ गणित

जनकपुरधाम । टी–ट्वान्टी विश्वकप सुरु हुनुअघि भारतलाई उपाधि दाबेदार मानिएको थियो । तर पहिलो खेलमा पाकिस्तान र दोस्रो खेलमा न्युजिल्यान्डसँगको लज्जास्पद हारपछि भारतीय टिम अघिल्लो चरण प्रवेश गर्ने सम्भावना निकै कठिन देखिएकाे छ ।

भारतले अब यदि सेमिफाइनलमा स्थान बनाउने हो भने कुनै चमत्कार हुन आवश्यक छ । भारतले अब आफ्नो प्रदर्शनमा मात्रै नभइ समूहमा रहेका अन्य टिमले निकाल्ने नतिजामा पनि भर पर्नुपर्ने देखिएको छ । भारत अगाडि बढ्न अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गर्नुपर्ने छ ।

भारत जारी टी–ट्वान्टी विश्वकपमा समूह २ मा छ । यो समूहमा रहेको पाकिस्तानले आफ्ना तीन म्याच जित्दै सेमिफाइनलमा स्थान लगभग पक्का गरेको छ ।

अब लडाई दोस्रो टिमका लागि छ जहाँ न्युजिल्यान्ड, भारत र अफगानिस्तान प्रतिस्पर्धामा छन् । भारतले आफ्ना दुवै खेल ठूलो अन्तरले गुमाएको छ । अब उसले सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्न आगामी तीन खेल ठूलो अन्तरले जित्नुपर्ने देखिन्छ ।

भारतले अब अफगानिस्तान, नामिबिया र स्कटल्यान्डसँग खेल्न बाँकी छ । यदि भारतीय टिमले यी तीनवटै म्याच ठूलो अन्तरले जितेर नेट–रनरेट सुधार्न सक्यो भने सेमिफाइन पुग्ने झिनो सम्भावना कायम रहन्छ ।

लगातार दुई खेल ठूलो अन्तरले गुमाएपछि भारतको नेट–रनरेट निकै तल झरेको छ । अहिले भारतको नेट–रनरेट –१.६०९ छ । यस्तोमा उसले बाँकी रहेका तीन खेल ठूलो अन्तरले जित्नैपर्छ ताकि नेट–रनरेटको लडाईमा अगाडि पुग्न सकोस् ।

यद्यपि भारतीय टिमलाई यो मात्रै पर्याप्त हुने छैन । किनभने अफगानिस्तानले अहिलेसम्म दुई खेल ठूलो अन्तरले जितिसकेको छ । अहिले अफगानिस्तानको नेट–रनरेट ३.०९७ छ र उ समूह २ को दोस्रो स्थानमा छ ।

भारतीय टिमले अब आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यदि भारत यो खेलमा पनि पराजित भए उसको सेमिफाइनल पुग्ने यात्रामा पूर्णविराम लाग्नेछ ।

तर ठूलो अन्तरले जितेमा र त्यसपछि अफगानिस्तानले न्युजिल्यान्डलाई हराउन सकेमा भारतको आशा जीवित रहनेछ । यसका अलावा नामिबिया र स्कटल्यान्ड जस्ता टिमले पनि न्युजिल्यान्डलाई मात दिने आशा भारतले राखेको छ । तर यी सबै अनुमानका कुरा हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस