सप्तरीमा बसकाे ठक्करबाट दुईकाे मृत्यु, एक गम्भीर

राजविराज, २५ कार्तिक । सप्तरीमा गए राति सडक दुर्घटनामा परेर दुई जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझियास्थित दुर्घटना भएको हाे । पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले बीअार ३८ अार ८१७३ नम्बरको माेटरसाइकल र पैदलयात्रीलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

ठक्करबाट माेटरसाइकलमा सवार भारत विहार राज्यको सुपौल जिल्लाकाे बलुवा-३ का २२ वर्षीय राजु कुमार तिवारीकाे मृत्यु भएको छ । गम्भीर घाइते भएका तिवारीलाई उपचारकोलागि विराराटनगरतर्फ लैजाने क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए ।

यसैगरी, साेही माेटरसाइकलमा पछाडि सवार पहिचान नखुलेका ३१ वर्षीय अर्का एक पुरुषकाे पनि दुर्घटना परेर मृत्यु भएको जनाएको छ ।

यसैगरी, ठक्करबाट घाइते भएका पैदलयात्री कंचनरुप नगरपालिका-२ बरमझियाका १९ वर्षीय रोहन प्रसाद गुप्तालाई थप उपचारकोलागि विराटनगर पठाईएकाे छ । गुप्ताको दाहिने खुट्टा भाँचिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताए । दुर्घटनामा परेको बस र माेटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस