संघीयतामाथि चौतर्फी प्रहार भइरहेको छः मन्त्री साह

राजविराज, २५ कार्तिक । प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयतामाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । विहिवार प्रेस मञ्च सप्तरीले राजविराजमा आयोजना गरेको ‘छठ तथा समाचकेवा पर्वको शुभ अवसरमा शुभकामना आदान प्रदान एवम् सम्मान कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले संघीयतामाथि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रुपमा आक्रमण भइरहेको छ’ उनले भने–‘ती आक्रमणबाट संघीयतालाई जोगाउन र संस्थागत गरी अगाडी बढ्नु नै प्रदेश सरकारको मुख्य प्राथमिकता हो ।’

विभिन्न आन्दोलनमा जनताले दिएको वलिदानीबाट आएको संघीयतालाई संस्थागत गर्दै समृद्ध प्रदेश बनाउनेतर्फ दिसामा प्रदेश सरकारले कार्य गरिरहेको मन्त्री साहको भनाई छ । ‘संघीयतालाई संस्थागत गर्नमा सञ्चारकर्मीको महत्वपूर्ण भुमिका छ’ उनले भने–‘संघीयता ल्याउन जसरी सञ्चारकर्मीहरुले भुमिका निर्वाह गरेका छन, त्यसरी नै संघीयतालाई संस्थागत गर्न पनि सहयोग पाउने विश्वास छ ।’

सञ्चार क्षेत्रमा रहेको समस्यालाई समाधान गर्न प्रदेश सरकार अग्रसर रहेको उनले बताए । ‘सञ्चार क्षेत्रकै समस्या समाधानका निम्ति हामीले मिडिया काउन्सिल र आमसञ्चार प्राधिकरण गठन गर्यौं तर कर्मचारी अभावका कारण प्रदेश सरकारले सोचेअनुसारको काम गर्न सकेका छैनौं’ उनले भने–‘ती दुवै निकायमा कर्मचारी परिपूर्ति गरी सञ्चार क्षेत्र र सञ्चारकर्मीको हकहित संरक्षण गर्नेतर्फ कार्यहरु अघि बढ्नेछ ।’

प्रेस मञ्च सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा मिडिया कान्सिलका अध्यक्ष शिवहरि प्रसाद भट्टराई, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, प्रेस मञ्चका महासचिव अवधेश झा, केन्द्रीय सदस्य चन्दन यादव, राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादव, बलान विहुल गाउँपालिकाकी उपाध्यक्ष रुबी गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाकी उपाध्यक्ष सुजिता यादव लगायतले शुभकामनासहित आ–आफनो मनतव्य व्यक्त गरेका थिए । ।

कार्यक्रममा प्रेस मञ्च नेपालबाट नेपाल पत्रकार महासंघमा निर्वाचित भएकाहरुलाई सम्मानित समेत गरिएको छ भने मञ्चमा प्रवेश गरेका युवाहरु पत्रकारहरु सौरभ यादव, उमेशकुमार साह र शम्भु प्रसाद चौधरीलाई मन्त्री साहले दोसल्ला ओढाएर स्वागत गरेका छन् । सञ्चारकर्मी शुभनारायण यादवले सञ्चालन गरेको कार्यक्रममा विद्यानन्द रामले स्वागत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस