जनसंख्या ३ करोड ननाघ्ने

काठमाडौं, २६ कार्तिक। देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ । नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ ।

राष्ट्रिय जनगणना २०७८ बारे बुधबार जानकारी दिँदै विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जन्मदर घटेकाले जनसंख्या पनि प्रक्षेपण गरेभन्दा कम हुने अनुमान गरिएको बताएका छन् ।विगतको जनसंख्या वृद्धिदरलाई आधार मानेर यसपटक मुलुकको जनसंख्या तीन करोड नाघ्ने अनुमान गरिएको थियो । विभागले दिएको जानकारी अनुसार पछिल्ला संकेतले तीन करोड ननाघ्ने देखाएको छ ।

विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार भदौ ३० देखि असोज १८ सम्म गरिएको घरपरिवार सूचीकरणमा घरपरिवारको संख्या पनि अनुमान गरेभन्दा कम देखिएको छ । यो हिसाबले पनि प्रक्षेपण गरिएभन्दा कम जनसंख्या हुने देखिएको हो । विभागले घरपरिवार सूचीकरणअघि जनसंंख्या ३ करोड ५ लाख पुग्ने अनुमान गरेको थियो ।

नेपालमा सन् २०१९ मा गरिएको मल्टिपल इन्डिकेटर सर्भेले पनि जन्मदर घटेको देखाएको छ । सर्वेक्षणअनुसार नेपालमा प्रतिव्यक्ति जन्मदर सन् २०२० मा १.६७ छ । जनसंख्या सन्तुलनमा रहन जन्मदर २.१ हुनुपर्ने मान्यता छ । नागरिक दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस