विवाह पञ्चमी महोत्सवको तयारी सुरु, विभिन्न समिति गठन

जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा साताव्यापी सीता–राम विवाह पञ्चमीको तयारी सुरु भएको छ ।
यसवर्ष आगामी मंसिर २२ मा सिता–राम विवाह पञ्चमी पर्छ । तर एक हप्तासम्म विभिन्न कार्यक्रम गर्नेगरी मंसिर १७ गतेदेखि नै विवाहपञ्चमी महोत्सव सुरु हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।

गत वर्ष कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सिमित भयो । त्यसैले यसवर्ष भव्य रुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिहरु गठन गरिएको छ ।
जानकी मन्दिरमा राखिएको सर्वपक्षीय बैठकमा महन्थ वैष्णवले विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभुमी मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत आपूर्ति सहितका समिति गठन गरिएको जानकारी दिए ।

भगवान रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा जनकपुर विशेष जन्ती आउने चलन छ । यसपटक औपचारिक रुपमा जन्ती नआएपनि साधुसन्त र ठूला महन्थहरु जन्तीकै रुपमा आउने महन्थ वैष्णवले जानकारी दिए ।

बैठकमा सहभागीले बाहिरबाट विवाह पञ्चमीमा सहभागी हुन ठूलो संख्यामा मानिस आउने हुनाले जताततै फोहोर हुने गरेकोले सरसफाईमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन महन्थ वैष्णवसँग आग्रह गरेका थिए ।

फोहोर र शौचालय व्यवस्थापनमा उप–महानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिने गरेको गुनासो गर्दै महन्थ वैष्णवले आफ्नो छोरीको बिहे ठानेर सबैले आफैं गर्नुपर्ने बताए । उनले भने, ‘अरुको भर पर्नु हुँदैन । सबैको साथ चाहियो । म आफैं झाडु बोकेर सडकमा निस्किन्छु ।’

महन्थ बैष्णवले प्रदेश सरकारले चाहेभने केहि सरसफाई र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले महोत्सवलाई भव्य बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकारसँग आग्रह समेत गरे ।

उनका अनुसार मंसिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ–विवाह र २३ गते रामकलेवा कार्यक्रम तय भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस