संघीयता र लोकतन्त्रमाथि खतरा देखिए पुनः संघर्षमा उत्रिने चेतावनी

जनकपुरधाम, २० मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेशी जनताको काँधमा रहेको बताएका छन् ।

जसपा नेपाल महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यस्तो बताएका हुन् । जनआन्दोलन र मधेश विद्रोहको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी मधेशीको काँधमा आएको अध्यक्ष यादवले तर्क गरे ।

केपी शर्मा ओलीले संघीयता र गणतन्त्र मास्न गरेको प्रयासलाई आफुहरु एक पटक असफल तुल्याइ सकेको भए पनि खतरा अझैं कायम रहेकोले सघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि आफुहरु सदैब सजग रहेको अध्यक्ष यादवले प्रतिवद्धता व्यक्त गरे । पहिलो मधेश विद्रोहबाट शुरु भएको संघर्षको यात्रा अझैं जारी रहेको दाबी गर्दै उनले संघीयता र लोकतन्त्रमाथि खतरा देखिए पुनः संघर्षमा उत्रिने चेतावनी समेत दिए । सडकबाट शुरु भएको संघर्षको यात्रा अहिले सदन र सरकारको मोर्चाबाट जारी रहेकोले आवश्यकता परे पुनः सडक संघर्षमा उत्रिन बेर नलाग्ने उनले बताए ।

कार्यक्रममा जसपा कार्यकारणि सदस्य राजकिशोर यादवले देशमा अझंै कायम रहेको विभेदकारी राज्य सत्तालाई ढालेर समतामुलक राज्य निर्माणका लागि जसपा सदैव तयार रहेको उल्लेख गरे । जसपा पार्टी मात्र नभई उत्पिडित वर्गको सम्मान र पहिचानको लागि संघर्षको पर्याय समेत रहेको उनले आवश्यकता औंल्याए ।

कार्यक्रममा जसपा कार्यकारिणी सदस्य एवं प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उत्पिडित वर्गको सम्मानको लागि जसपा प्रतिवद्ध रहेको बताए । राष्ट्रिय संरचनामा सबै भन्दा समावेशी पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी उत्पिडित वर्गको भरोसाको एकमात्र केन्द्र रहेको दावी गरे ।

प्रजातन्त्र स्थापना पछि पटक पटक सरकारमा गएको काँग्रेस र कम्युनिष्टहरुले जनताको भरोसा गुमाई सकेकोले जनता समाजवादी पार्टी नेतृत्वको प्रदेश सरकार मधेश आन्दोलनको भावना र उत्पिडित वर्गको सम्मानको लागी एक पछि अर्को लोकप्रिय कार्यक्रमहरु ल्याइ सकेको मुख्यमन्त्री राउतले चर्चा गरे । प्रदेश सरकारले ल्याएको आरक्षण सम्बन्धि व्यवस्था विश्वकै उत्कृष्ट गरेको दावी गर्दै आरक्षणको सुविधा प्राप्त गर्न दलित , महिला मुस्लिम लगायतको समुदायलाई बालबालिकाको शिक्षामा जोड दिन आग्रह समेत मुख्यमन्त्री राउतले गरे ।

जिल्ला अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, संविधान सभा सदस्य धर्मेन्द्र साह सहितका नेताहरुले सम्बोधन गरे । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ का सयौं नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस