कांग्रेस नेतृत्वलाई आफ्नैदेखि खतरा

काठमाडौं, २१ मंसिर। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४औं महाधिवेशन शुरु हुन चार दिन मात्र बाँकी छ । तर, सभापति लगायतका मुख्य पदमा क–कसको उम्मेदवारी रहने भन्ने टुंगो लागेको छैन ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार अनौपचारिकरूपमा आफू सभापतिको पुनः उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर, अन्य पदमा कसलाई उठाउने भन्ने टुंगो लगाउन सकेका छैनन् । सभापतिबाहेकका पदमा आफ्ना धेरै सहयोगीहरू आकांक्षी रहेको तथा अर्को गुटका असन्तुष्ट पक्षलाई तान्ने रणनीतिमा रहेका कारण सभापति देउवाले आफ्नो टिम बनाउन नसकेको प्रस्ट छ ।

देउवाइतर गुटमा भने पदाधिकारी मात्रै होइन सभापतिका आकांक्षीसमेत धेरै रहेको हुँदा कसैले पनि टिम बनाउन सकिरहेका छैनन् । अहिले चर्चामा आएका सबैले सभापतिमा उम्मेदवारी दिन्छन् भन्ने पनि टुंगोे छैन ।

सामान्यतया नेपाली कांग्रेसमा १३औं महाधिवेशनपछि देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूह स्पष्टरूपमा सक्रिय छ । देउवाको पुरानो समूहबाट विमलेन्द्र निधिले विद्रोह गरेर नयाँ गुट सिर्जना गर्नुभएको छ भने पौडेल समूहमा आधा दर्जनभन्दा बढी गुट–उपगुट छन् ।

सिटौला समूहबाट गगन थापाले विद्रोह गरी पौडेल समूहमा प्रवेश गरे पनि थापाको गुट कुन हो भन्ने स्पष्ट छैन । पौडेल समूहमा अहिले पौडेलबाहेक डा। शशांक कोइराला, डा। शेखर कोइराला, प्रकाशमान सिंह, डा रामशरण महत, अर्जुननरसिंह केसीहरूको छुट्टाछुट्टै उपगुट छन् ।सबै उपगुटका नेतृत्वकर्ताहरूले आफूलाई सभापतिमा दाबी गरिरहेका छन् तर एक्लै अघि बढ्ने हैसियत उनीहरुको देखिन्न ।

अहिलेसम्म ६ प्रदेशसहित ६१ वटा जिल्लाको परिणाम आइसकेको छ । सर्लाही र महोत्तरीका प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन हुन नसक्दा प्रदेश नं। २ को अधिवेशन रोकिएको छ भने १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । जसमध्ये चारवटा प्रदेशमा देउवा पक्ष र दुईवटा प्रदेशमा पौडेल पक्ष विजयी भएका छन् ।

जिल्ला र प्रदेश अधिवेशन तथा मत परिणामले कांग्रेसभित्रको ‘गुट’ केन्द्रदेखि जिल्ला र गाउँसम्म नै स्थापित भएको छ । प्यानलभन्दा बाहिर ५–७ प्रतिशतभन्दा बढी मत नगएको कांग्रेसी रणनीतिकारहरूको विश्लेषण छ । उम्मेदवारको व्यक्तिगत प्रभाव र चुनावी खर्चले ती मत प्रभावित भएको उनीहरूको ठम्याइ छ । नेपाल समाचारपत्र दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस