शिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव छैन : मुख्यमन्त्री

जनकपुरधाम, २५ मंसिर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शिक्षा विना मुस्लिम समुदायको समग्र विकास सम्भव नरहेको बताएका छन् । मुस्लिम आयोगले आज जनकपुरधाममा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘मुस्लिम समुदायले शिक्षामा पहुँच नबनाएसम्म राज्यको मुल धारबाट बाहिरै रहनेछ’ उनले भने-‘त्यसैले शिक्षा हासिल गर्नेतर्फ सबैको ध्यान पुग्नुपर्ने जरुरी छ।’ मदरसा शिक्षालाई राज्यले मान्यता दिनु पर्नेमा जोड दिँदै मुख्यमन्त्री राउतले मदरसा शिक्षाका साथै आधुनिक शिक्षासँग बालबालिकाहरुलाई जोड्न मुस्लिम अगुवाहरुलाई आग्रह समेत गरे ।

प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनकोलागि विधेयक सदनमा पुर्याइसकेको उल्लेख गर्दै उनले मदरसामा अरबी र उर्दुकासाथै अंग्रेजी, विज्ञान र गणित शिक्षाको अध्यापन समेत हुनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले सबै जात समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गरिसकेको उल्लेख गर्दै उनले मुस्लिम समुदायले प्रदेश सरकारको सबै निकायमा १२ प्रतिशत आरक्षण पाउने विश्वास दिलाए ।

उनले धार्मिक र एतिहासिक स्थलहरुको सौन्दर्यीकरणको क्रममा प्रदेश सरकारले जानकी मन्दिर, विद्यापति डिहका साथै रौजा मजारलाई समेत प्राथमिकतामा राखेर सौन्दर्यीकरणको कामलाई तिब्रता दिएकाे बताए ।
आयोगका अध्यक्ष समिम मियाँ अंसारीको अध्यक्षतामा अायाेजना गरिएको कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव लगायतको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस